झापाझापाको बिर्तामोड नगरपालिका–९, गरामनीमा सन्थाल समुदायको महान् सांस्कृतिक पर्व सोहरायको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सन्थाल मार्साल डाहार सुसार समाजको आयोजनामा भएको कार्यक्रममा सन्थाल समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैली झल्किने विविध प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

कृषि चक्र, पशुपालन र प्रकृतिप्रतिको कृतज्ञतासँग गहिरो सम्बन्ध रहेको सोहराय पर्व धानबाली भित्र्याएपछि मनाइने सन्थाल समुदायको प्रमुख उत्सव हो। यस पर्वले परिवार, समाज र प्रकृतिबीचको सहअस्तित्व तथा आपसी सम्बन्धलाई प्रतीकात्मक रूपमा उजागर गर्दछ। पूर्वी नेपालका झापा र मोरङ जिल्लामा उल्लेख्य रूपमा बसोबास गर्ने सन्थाल समुदायले यस पर्वलाई विशेष उत्साहका साथ मनाउँदै आएको छ।

FB_IMG_1770369159840कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की रहनुभएको थियो। कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सन्थाल जातिको भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि राज्य र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

उहाँले सांस्कृतिक विविधता नै नेपालको पहिचान र शक्ति भएको उल्लेख गर्दै आदिवासी समुदायको मौलिकता जोगाउन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

627685161_1506076611520772_8668249803331301161_n

 जनहितमा जारी

कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नं. ७ का अध्यक्ष अविरल कृष्ण खरेल, वडा नं. ९ का अध्यक्ष हरिप्रसाद चौलागाई, वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य संगिता सिवा, हडम मुर्मुलगायत जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रममा परम्परागत सन्थाल नृत्य, गीत–संगीत र भेषभूषाको आकर्षक प्रस्तुति गरिएको थियो। भारतबाट आमन्त्रित कलाकार नानोक हस्ता, सोनाली सोरेन, अजित मुर्मु, भोला मुर्मुलगायतले विशेष प्रस्तुति दिए भने स्थानीय कलाकार सोराहीले पनि कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।

कार्यक्रमको अध्यक्षता मुकेस हस्ताले गर्नुभएको थियो भने सञ्चालन श्याम मुर्मुले गर्नुभएको थियो।


आधुनिकता र शहरीकरणका कारण आदिवासी समुदायका मौलिक संस्कृतिमा चुनौती बढिरहेका बेला यस्ता कार्यक्रमहरूले सांस्कृतिक संरक्षण, पहिचान सुदृढीकरण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


आयोजकका अनुसार सोहराय पर्वले उत्सव मात्र होइन, समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक गर्वलाई पनि थप मजबुत बनाएको छ।