झापा — क्षितिज नाट्य प्रतिष्ठान झापाद्वारा निर्माण गरिएको झापा नाटक घरमा आज माघ १९ गतेदेखि बहुप्रतीक्षित नाटक ‘द–बुल’ को औपचारिक मञ्चन सुरु भएको छ। उद्घाटनसँगै नाटकले विद्यार्थी, अभिभावक तथा रंगप्रेमी दर्शकको उल्लेख्य ध्यान खिचेको छ।


नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा अभियन्ता माधब कल्पितको परिकल्पना निर्देशन र गजेन्द्र पृथकको निर्देशनमा तयार गरिएको उक्त नाटकलाई भीम निधि तिवारीले निर्देशन गरेका हुन्।

प्रस्तुति संयोजनमा सह–निर्देशक विवेक मिश्र र कार्यक्रम संयोजक राजकुमार भट्टराई सक्रिय रहेका छन्। नाट्य प्रतिष्ठानकी केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईँका अनुसार नाटकको प्राविधिक र कलात्मक पक्ष दुवै सशक्त ढंगले प्रस्तुत गरिएको छ।

 जनहितमा जारी


मञ्चमा राजकुमार भट्टराई, विवेक मिश्र, किरण दहाल, राकेश दर्नाल, दीपा शिवाकोटी, स्मृति निरौला, आरजू पौड्याल र आयुष सुजीको जीवन्त अभिनय देख्न सकिन्छ भने तारा प्रकाश भट्टराई विशेष सहयोगीको भूमिकामा रहेका छन्। कलाकारहरूको समन्वय र सशक्त संवाद प्रस्तुतीले नाटकलाई थप प्रभावशाली बनाएको दर्शकको प्रतिक्रिया छ।

WhatsApp Image 2026-02-03 at 12.42.39“एक व्यक्ति एक इट्टा” अभियानमार्फत निर्माण गरिएको झापा नाटक घर अहिले पूर्वाञ्चलको महत्वपूर्ण सांस्कृतिक केन्द्रको रूपमा स्थापित बन्दै गएको छ। अभियन्ता माधब कल्पितका अनुसार यहाँ हालसम्म ११ वटा नाटक सफलतापूर्वक मञ्चन भइसकेका छन्।


व्यवस्थापक राजकुमार भट्टराईका अनुसार कक्षा १२ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा समावेश ‘द–बुल’ नाटकको पहिलो सिजन माघ २६ गतेसम्मका लागि विद्यालय बुकिङ पूर्ण भइसकेको छ। यसले शैक्षिक तथा सांस्कृतिक दुबै क्षेत्रमा नाटकप्रतिको आकर्षण बढ्दो रहेको संकेत दिएको छ।


स्थानीय स्तरमै गुणस्तरीय नाट्य मञ्चन सम्भव छ भन्ने सन्देश दिँदै ‘द–बुल’ ले झापाको रंगमञ्चीय यात्रामा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।