बिर्तामोडमा तेस्रो संस्करणको हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमै इस्ट होराइजन माध्यमिक विद्यालय धुलाबारीले प्रभावशाली सुरुआत गरेको छ ।
बिहीबार सम्पन्न उद्घाटन खेलमा इस्ट होराइजनले आयोजक एभरेस्ट स्मार्ट एकाडेमीलाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो दाबी प्रस्तुत गर्यो । खेलको ४३ औँ मिनेटमा आयोजक टिमबाट भएको अन गोल नै इस्ट होराइजनका लागि निर्णायक बन्यो । उत्कृष्ट प्रदर्शन गरेका इस्ट होराइजनका निक्रिस घिसिङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

एभरेस्ट स्मार्ट एकाडेमी र एभरेस्ट स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा विद्यालयका संस्थापक स्व. हरिकुमार प्रसाईंको स्मृतिमा हरेक वर्ष प्रतियोगिता हुँदै आएको न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देबेन्द्र हुमागांईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराले गरेकी थिइन् ।
विद्यालयका प्रबन्ध निर्देशक आशिष प्रसाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्याब्यसन झापाका वरिष्ठ उपाध्यक्ष हरिकुमार पाठक, राम सिटौला, बिर्तामोड वडा नम्वर ६ का वडाध्यक्ष ,सूर्य कन्दङ्वा तथा झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेललगायतले खेलकुद र शिक्षा सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा प्रबन्ध निर्देशक प्रसाईंले स्व. पिता हरिकुमार प्रसाईंको शिक्षाप्रतिको योगदान स्मरण गर्दै विद्यालयले खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताए । कार्यक्रमको सञ्चालन शिक्षिका सावित्रा भट्टराईले गरेकी थिइन् ।

प्रतियोगितामा झापाका सुनभागा, टावर टेम्पल, गोमेन्द्र, बाल बाटिका, चिल्ड्रेन इन्भारोमेन्ट, मेची मोडल, निधि, ग्रिन फिल्ड, ब्रिलियन्ट पिपुल्स, देवकुल, होलीबेल, बेल्स मोडल, कञ्चनजंघा, कञ्चन, सूर्योदय, हरिकुल, वाल्मीकि प्रोभिडेन्स र न्युटन्स एजुकेशन एकाडेमी गरी १९ विद्यालय सहभागी छन् । प्रतियोगिताको फाइनल खेल माघ २८ गते हुने एभरेस्टका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।
यसै अवसरमा विद्यालय र एभरेस्ट बाल क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत दुईजना क्यान्सर पीडित बालकलाई आर्थिक सहयोगसमेत गरेका छन् ।
बाह्रदशीका ३ वर्षीय नुतन राजवंशी र भद्रपुरका ६ वर्षीय आरोन धमालालाई जनही ३५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।उद्घाटन खेलमा विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।














