झापा, भरत प्रसाईं  — झापाको बिर्तामोड नगरपालिका–९ स्थित गरामनीमा सन्थाल समुदायको महान् पर्व सोहराय विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सन्थाल मार्साल डाहार सुसार समाजको आयोजनामा भएको कार्यक्रममा सन्थाल समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने नृत्य, गीत–संगीत तथा भेषभूषाको आकर्षक प्रस्तुति गरिएको थियो।

धानबाली भित्र्याएपछि मनाइने सोहराय पर्व कृषि, पशुपालन र प्रकृतिप्रतिको कृतज्ञतासँग जोडिएको प्रमुख सांस्कृतिक उत्सव हो। कार्यक्रममा प्रदेश सांसद एकराज कार्की प्रमुख अतिथि रहनुभएको थियो भने प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सन्थाल समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणमा राज्य र समुदाय दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायत जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भारतबाट आएका तथा स्थानीय कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो।

आधुनिकता र शहरीकरणको प्रभावबीच यस्ता कार्यक्रमले आदिवासी समुदायको सांस्कृतिक संरक्षण र पहिचान सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकहरूको विश्वास छ।