पवन ढकाल बुद्धशान्ति ,

झापाको उत्तर–पूर्वी गाउँपालिका बुद्धशान्ति वडा नं. ४ मा अवस्थित एक प्रतिष्ठित संस्थागत  विद्यालय न्यु एभरग्रीन अङ्ग्रेजी बिधालयले आफ्नो २९औँ वार्षिकोत्सव भव्य समारोहका बीच सम्पन्न गरेको छ।
करिब तीन दशकदेखि शैक्षिक क्षेत्रमा अनवरत रूपमा समर्पित यस विद्यालयको यात्रा केवल वार्षिकोत्सवको उत्सव मात्र नभई एक ऐतिहासिक दस्तावेजका रूपमा समेत उभिएको छ।

IMG_7792


समारोहमा स्थानीयबासी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अभिभावकहरूको खचाखच उपस्थिति देखिन्थ्यो। उपस्थितिको उत्साहले विद्यालय वडा नं. ४ को सीमामा मात्र नभई बुद्धशान्ति गाउँपालिका, झापा र रोङ–इलामका केही क्षेत्रमा समेत शिक्षाको क्षेत्रमा स्थापित संस्थाको रूपमा परिचित रहेको स्पष्ट पारेको थियो।
स्थानीय अभिभावक तथा शिक्षाप्रेमी अर्जुन  मेन्यान्बोको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष तथा कर्णाली एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देसक छत्रबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

बिहानी सत्रका शिक्षक राज अर्यालले कुशलतापूर्वक सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थी सोनिक्ष्या माबो र सृष्टि लिम्बूले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि कार्कीले शुभकामना मन्तव्य दिँदै बुद्धशान्ति क्षेत्रमा विद्यालयले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो र आगामी दिनमा अझ उन्नति र प्रगतिको कामना व्यक्त गर्नुभयो।

 जनहितमा जारी

IMG_7849


प्रधानाध्यापक तिलक पाख्रीनले विद्यालय स्थापनाकालदेखि हालसम्मका आरोह–अवरोह समेटिएको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई यस स्थानसम्म पुर्‍याउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापका झाँकीहरूले विद्यालयले किताबी ज्ञानसँगै कला, संस्कार र प्रतिभा विकासमा समेत विशेष ध्यान दिएको सन्देश दिएका थिए।

विद्यालयले गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू, लामो समयदेखि सेवामा समर्पित शिक्षक–शिक्षिका तथा गीत–संगीत र नृत्य प्रशिक्षकहरूलाई सम्मान गरेको थियो।
कार्यक्रमको सुरुदेखि अन्त्यसम्म अभिभावक, संघ–संस्थाका प्रतिनिधि, राजनीतिकर्मी, सुरक्षाकर्मी तथा शिक्षाप्रेमीहरूको सक्रिय सहभागिताले समारोहलाई अझ गरिमामय बनाएको थियो।


IMG_7890


समग्रमा अभिभावकहरूले आफ्ना नानीहरूलाई विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षा, कला–कौशल र अनुशासनप्रति गर्व व्यक्त गरेका छन्। न्यु एभरग्रीन को २९ वर्षको शैक्षिक यात्राले विद्यालयलाई यस क्षेत्रकै एक भरोसायोग्य र अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित गरेको सन्देश समारोहले स्पष्ट पारेको छ।