बिर्तामोड । झापाको बिर्तामोड–२ चैतुबारीस्थित पञ्चरत्न माध्यमिक विद्यालयले आफ्नो ५८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म लक्सम्बाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहायक प्रधानाध्यापक शुभाकर खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रधानाध्यापक लक्ष्मण दाहालले विद्यालयका वार्षिक गतिविधि र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। शुभकामना मन्तव्य राख्नेहरूमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगर शिक्षा प्रमुख तिलचन भण्डारी तथा मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठलगायत रहेका थिए।

वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानुनाथ मैनाली र योगेन्द्रमणी दाहाल, पूर्व सहायक प्रधानाध्यापक डम्बर देउजा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भवानीप्रसाद ओली, दीर्घसेवी शिक्षक बासु त्रिताल, वर्ष उत्कृष्ट शिक्षक चन्द्रकला घिमिरे, सेवानिवृत्त शिक्षक यामनाथ प्रसाई, उत्कृष्ट अभिभावक विजय गोश्वामी, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष जङ्गबहादुर श्रेष्ठ तथा अनुशासित विद्यार्थी सम्झना तामाङलगायतलाई सम्मान गरिएको थियो।
यसैगरी विभिन्न अक्षयकोषमार्फत कक्षा ३ देखि ९ सम्मका ११ जना विद्यार्थीलाई नगदसहित छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयलाई भौतिक सहयोग पुर्याउने दाताहरूलाई पनि सम्मान गरिएको थियो।
खेलकुदतर्फ भलिबल र रिले दौडका विजेताहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातीय नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने शिक्षकहरूको सामूहिक नृत्यले समेत कार्यक्रमलाई आकर्षक बनाएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक होमनाथ भट्टराईले गरेका थिए।














