झापा, बुद्धशान्ति–३ स्थित कान्तिपुर विद्या सदनले आफ्नो २०औँ वार्षिकोत्सव २०८२ भव्य तथा सभ्य वातावरणमा सम्पन्न गरेको छ।
कार्यक्रमको प्रारम्भ अनौपचारिक चरणअन्तर्गत गुरु वन्दना, सरस्वती वन्दना तथा विद्यालय गानबाट गरिएको थियो। त्यसपश्चात औपचारिक कार्यक्रम सुरु गरिएको थियो।


IMG_8172


विद्यालयकी प्रिन्सिपल अनु सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपप्रमुख भवानी प्रसाद खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी प्याब्सन बुद्धशान्तिका अध्यक्ष तथा न्यू एभरग्रीन स्कुलका प्रिन्सिपल तिलक पाखृन विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।
प्रमुख अतिथि खतिवडाबाट दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। विद्यार्थी साइमन सिटौला र रबिन तिवारीले क्रमशः अङ्ग्रेजी र नेपाली भाषामा स्वागत मन्तव्य प्रस्तुत गर्दै अतिथि तथा अभिभावकहरूलाई स्वागत गर्नुभएको थियो।


व्यापक अभिभावकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा तीन जना उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको थियो। साथै कक्षा ८ उत्तीर्ण गरी पूर्व तथा हाल अध्ययनरत एक जना विद्यार्थी र लामो समयदेखि अध्यापन गराउँदै आउनुभएकी एक जना शिक्षिकालाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।

IMG_8212


प्रमुख अतिथि भवानी प्रसाद खतिवडाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। विशिष्ट अतिथि तिलक पाखृनले विद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू पालिकाभित्रै उल्लेखनीय रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक विष्णु सापकोटाको खुलेर प्रशंसा गर्नुभयो।


कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला, झलका भट्टराई, शान्तिनिकेतनका प्रिन्सिपल उदयचन्द्र कोइराला लगायतको विशेष आतिथ्यता रहेको थियो। विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।


विद्यालयका सम्पूर्ण विद्यार्थीहरूले प्रस्तुत गरेका गीत, नृत्य, प्रहसन तथा नाटक अत्यन्त उत्कृष्ट र आकर्षक देखिएका थिए। विद्यार्थी तेजिना सिग्देल र प्रवेश रेग्मीले कार्यक्रमलाई सरल र सहज रूपमा सञ्चालन गर्नुभएको थियो भने सम्मान सत्र शिक्षिका मन्दिरा पाण्डे र सोमनाथ सिटौलाले सञ्चालन गर्नुभएको थियो।


IMG_8272



२०औँ वार्षिकोत्सव समारोहले विद्यालयको दुई दशक लामो शैक्षिक यात्रालाई स्मरणीय बनाउँदै आगामी दिनमा अझ सशक्त शैक्षिक अभियानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।