झापा, भद्रपुर — आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित झापामा तयारी तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय झापा, नेपाल पत्रकार महासङ्घ झापा शाखा तथा संवाद समूहकाे संयुक्त आयोजनामा भद्रपुरमा सम्पन्न निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

झापा जिल्लाका मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिने जानकारी दिए।

उनका अनुसार झापाका १३१ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ भने १५ वटा पालिकामा स्वयंसेवकहरूको कामको निगरानीका लागि १५ जना मतदाता शिक्षा अनुगमनकर्ता नियुक्त गरिनेछन्।

219e2491-eb39-4a1c-8ba4-457b0cae6f4d

नेपालले मतदान प्रक्रियालाई सरल, सहज र बदर मतको संख्या घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको स्पष्ट पारे। “आम नागरिकलाई मताधिकारको महत्व, मतदान गर्ने तरिका र निर्वाचन प्रक्रिया सम्बन्धी सही जानकारी दिनु हाम्रो मुख्य लक्ष्य हो,” उनले भने, “सचेत मतदाता नै सफल निर्वाचनको आधार हो।”

कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निर्वाचनलाई मर्यादित र स्वच्छ बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे। उनले राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरेमा विजय भइसकेपछि पनि कारबाही हुन सक्ने चेतावनी दिँदै आयोगले तोकेको सीमाभित्र रहेर गतिविधि सञ्चालन गर्न आग्रह गरे।


त्रकारहरूको भूमिकाबारे बोल्दै मुख्य निर्वाचन अधिकृत लुइटेलले भ्रामक सर्वेक्षण प्रकाशन, झुटा वेबसाइटमार्फत अफवाह फैलाउने, घोषणापत्रविना घरदैलो अभियान सञ्चालन गर्ने तथा राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने कार्य नगर्न सचेत गराए। उनले निर्वाचनसम्बन्धी आधिकारिक सूचना लिन ११०२ टोल फ्री नम्बरमा सम्पर्क गर्न आग्रह गर्दै तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याए।

4dad6593-fd3b-4340-94da-0cbd92e6c379निर्वाचन तयारीबारे जानकारी दिँदै लुइटेलले निर्वाचन सम्पन्न गर्न आवश्यक ७२ प्रकारका सामग्रीमध्ये ७१ प्रकारको प्याकेजिङ कार्य सम्पन्न भइसकेको बताए।

उनका अनुसार झापा जिल्लामा कूल ७ लाख १३ हजार ५३५ मतदाता रहेका छन्। मतदानका लागि ८१५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने २८२ वटा मतदान स्थल तोकिएका छन्।

यसपटक झापामा ५० हजार २२६ जना नयाँ मतदाता थपिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी गेलालले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको बताए।

उनले जिल्लामा ९५ वटा अति संवेदनशील क्षेत्र पहिचान गरिएको उल्लेख गर्दै एकीकृत सुरक्षा प्रणालीअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समन्वयात्मक रूपमा परिचालन गरिने जानकारी दिए। “मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न हामी पूर्ण रूपमा तयारी अवस्थामा छौँ,” उनले भने।

त्यसैगरी  नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले सञ्चार आचारसंहिताको परिच्छेद ४ र ७ मा उल्लेखित प्रावधानलाई विशेष ध्यान दिन पत्रकारहरूलाई आग्रह गरे।

उनले पक्ष–विपक्षमा झुकाव देखिने गरी समाचार सम्प्रेषण नगर्न, रिपोर्टिङका क्रममा अनिवार्य रूपमा परिचयपत्र प्रयोग गर्न र विज्ञापन प्रकाशन गर्दा ‘; सशुल्क’रूपमा स्पष्ट उल्लेख गर्न आग्रह गरे। उनले वातावरणमैत्री तरिकाले प्रचारप्रसार गर्न पनि दलहरूलाई सुझाव दिए।

कार्यक्रमको सञ्चालन महासङ्घका सचिव राजु पाठकले गरेका थिए। अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनसम्बन्धी जिज्ञासा राख्दै पारदर्शी र विश्वसनीय सूचना प्रवाहमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

निर्वाचन नजिकिँदै जाँदा झापामा प्रशासन, निर्वाचन निकाय र सञ्चार क्षेत्रबीचको समन्वय सशक्त बन्दै गएको देखिएको छ।

मतदाता शिक्षा कार्यक्रम, कडा आचारसंहिता कार्यान्वयन र मजबुत सुरक्षा तयारीले यसपटकको निर्वाचन झापामा व्यवस्थित, विश्वसनीय र उदाहरणीय हुने अपेक्षा गरिएको छ।

यस्तै संवाद समूहले सामाजिक सरोकारका विषयमा देखिएका समस्या समाधानका लागि समन्वयकारी भुमिका खेल्दै आएको छ ।