झापा — समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै पत्रकारहरूको दीगो हित र सामाजिक सुरक्षामा उत्कृष्ट योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखालाई यस वर्षको ‘श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। नगद ५१ हजार रुपैयाँसहितको उक्त पुरस्कार शनिबार इलामको रोङ गाउँपालिका–५ इरौंटार, पाखागाउँ मा आयोजित विशेष समारोहका बीच हस्तान्तरण गरिएको हो।
कार्यक्रममा महासंघ झापाका अध्यक्ष एकराज गिरीले सम्मानपत्र तथा नगद पुरस्कार ग्रहण गरेका थिए। पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान बुद्धशान्ति–५ द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा तथा भुर्तेल परिवारका सदस्यहरूले सामूहिक रूपमा पुरस्कार समर्पण गरेका थिए।
सम्मान अर्पण गर्दै वक्ताहरूले पत्रकार महासंघ झापा शाखाले पत्रकारहरूको हक–हित, पेशागत मर्यादा र सामाजिक सुरक्षाका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए। विशेषतः महासंघले २०८१ साल वैशाख ३ गते एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको ‘पत्रकार सहारा उपचार अक्षयकोष’ घोषणा गरी पत्रकारहरूको उपचार तथा आपतकालीन सहयोगमा दीर्घकालीन व्यवस्था मिलाएको कार्यलाई उदाहरणीय पहलका रूपमा उल्लेख गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले प्राप्त सम्मानले थप जिम्मेवारीबोध गराएको बताउँदै पत्रकारहरूको पेशागत सुरक्षा र सामाजिक सम्मानका लागि महासंघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनले पुरस्कार रकम समेत पत्रकार कल्याणकारी कार्यमै उपयोग गरिने जानकारी दिए।
‘श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको प्रतिष्ठानले जनाएको छ। यस वर्ष महासंघ झापा शाखा सम्मानित हुनु पत्रकारिता क्षेत्रका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।














