झापा, हल्दिबारी। दिपेन्द्र आधारभूत विद्यालयले अभिभावक–समुदाय अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना गरेको छ।


हल्दिबारी गाउँपालिका–४ ऐनाबारीमा अवस्थित उक्त विद्यालयले स्थापना दिवसको अवसर पारेर शैक्षिक प्रगति, मातृभाषा शिक्षा र सामुदायिक सहकार्यबारे विस्तृत जानकारी गराएको हो।

२०४४ सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा ८ सम्म पठन–पाठन सञ्चालन हुँदै आएको छ। करिब ३०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा १४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

विद्यालयले समावेशी शिक्षालाई प्राथमिकतामा राख्दै कक्षा १ मा मेचे भाषामा अध्यापनको व्यवस्था गर्दै आएको छ, जसले स्थानीय बालबालिकामा सिकाइप्रति आत्मविश्वास बढाएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङदेनले मातृभाषामा आधारित शिक्षाले समुदायको पहिचान जोगाउनुका साथै बालबालिकाको बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।


c68229e6-4ceb-4d63-92b9-b29cd135eaad

उहाँले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षासँगै भाषा–संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोषकुमार मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक अर्जुन भट्टराईले विद्यालयको उपलब्धि शिक्षक, अभिभावक र समुदायको सहकार्यको परिणाम भएको उल्लेख गर्नुभयो।

आगामी दिनमा भौतिक पूर्वाधार सुदृढीकरण, सुरक्षित खानेपानी, शौचालय व्यवस्थापन तथा स्वास्थ्य सुरक्षामा थप सुधार गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, कविता वाचन र भाषण प्रस्तुत गरेका थिए। विशेष आकर्षणका रूपमा सन्थाल तथा मेचे समुदायको मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। साथै, मेचे भाषा संरक्षणका लागि स्थापना गरिएको शैक्षिक सुधार अक्षय कोषमा योगदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो।

त्यसैगरी, वर्ष उत्कृष्ट शिक्षकका रूपमा प्रेरणा खड्का र उत्कृष्ट अभिभावकका रूपमा मञ्जु महतो सम्मानित हुनुभयो।


4a47da54-a94a-4824-aa64-621d92326b0fसमृद्धि मेचे र शिक्षा बाँस्कोटालाई पनि विशेष अभिभावक सम्मान प्रदान गरिएको थियो।

विद्यालयका अनुसार यहाँबाट अध्ययन गरेका ४० जना विद्यार्थी हाल बुढानिलकण्ठ विद्यालय, काठमाडौंमा अध्ययनरत छन्, जसमध्ये दुई जना पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।

कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

मातृभाषा संरक्षण र गुणस्तरीय शिक्षालाई सँगसँगै अघि बढाउँदै आएको दिपेन्द्र आधारभूत विद्यालय स्थानीय तहमा नमूना शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको सरोकारवालाहरूको भनाइ छ।