सुरुङ्गा – हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्ना ३१ वटा सेवा केन्द्रमार्फत सदस्यहरूलाई गुणस्तरीय, प्रभावकारी तथा सदस्यमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले नेतृत्व तहका कर्मचारीहरूका लागि दुई दिने ‘प्रशिक्षक प्रशिक्षण’ (Training of Trainers – ToT) तालिम सम्पन्न गरेको छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा फागुन ६ र ७ गते सुरुङ्गामा सञ्चालित उक्त तालिम ‘सदस्य केन्द्रीयता’ को अवधारणामा आधारित रहेको थियो।
संस्थामा आबद्ध सदस्यहरूलाई सहकारीको मर्म, सिद्धान्त, उत्तरदायी वित्तीय परामर्श तथा संस्थाका वस्तु र सेवाबारे तल्लो तह (ग्रासरुट लेभल) सम्म प्रभावकारी रूपमा जानकारी पुर्याउन सक्षम जनशक्ति विकास गर्नु तालिमको प्रमुख उद्देश्य रहेको जनाइएको छ। तालिमका क्रममा सहभागीहरूलाई प्रभावकारी प्रस्तुतीकरण कला, सेसन प्लान निर्माण तथा वयस्क शिक्षण विधिबारे व्यावहारिक अभ्यास गराइएको थियो।
संस्थाका तालिम विभाग प्रमुख वेद प्रकाश दवाडीले सदस्यहरूको आवश्यकता पहिचान गरी उहाँहरूलाई सक्रिय रूपमा सिकाइ प्रक्रियामा सहभागी गराउन यो तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा संस्थाका व्यवस्थापक सरोज दाहालले सहकारी केवल वित्तीय कारोबारमा सीमित नरही सदस्यहरूको जीवनस्तर उकास्ने सामाजिक अभियान भएको उल्लेख गर्दै सदस्यहरूको आवश्यकता पहिचान गरी वित्तीय साक्षरता र सहकारी शिक्षा विस्तार गर्नु संस्थाको प्रमुख दायित्व रहेको बताउनुभयो। उहाँले संस्थागत लक्ष्यलाई व्यवहारमा उतार्न सेवा केन्द्र प्रमुख तथा उच्च व्यवस्थापन समूहलाई दक्ष प्रशिक्षकका रूपमा विकास गरिएको जानकारी दिनुभयो।
तालिमका प्रमुख सहजकर्ता तथा नेफ्स्कूनका विभागीय प्रमुख बल्लभ तिमल्सिनाले सहभागीहरूलाई प्रभावकारी सहजीकरण सीप, अन्तरक्रियात्मक प्रस्तुतीकरण विधि तथा सदस्यमैत्री सञ्चार शैलीबारे प्रशिक्षण दिनुभएको थियो। तालिमको अन्त्यमा सहभागीहरूले डेमो प्रस्तुतीकरणमार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए।
समापन समारोहमा संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतम, प्रशिक्षक वल्लभ तिमल्सिना तथा व्यवस्थापक सरोज दाहालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। तालिमपश्चात् झापा, इलाम र मोरङ जिल्लामा सञ्चालित ३१ वटा सेवाकेन्द्रमार्फत सदस्य लक्षित कार्यक्रमहरू अझ व्यवस्थित र व्यावसायिक ढंगले सञ्चालन हुने विश्वास संस्थाले व्यक्त गरेको छ।
संस्थाले आफ्नो व्यावसायिक विकाससँगै कार्यरत कर्मचारीहरूको वृत्तिविकासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। साथै, शेयर सदस्य तथा समुदायको चेतना स्तर अभिवृद्धिका लागि विभिन्न शिक्षा तथा तालिम कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वसमेत वहन गर्दै आएको जनाएको छ।














