बिर्तामोड, झापा — झापाको बिर्तामोड–४ स्थित कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुल को आयोजनामा सम्पन्न ‘प्रथम गुरुभक्त न्यौपाने स्मृति अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिता–२०८२’ को उपाधि निधी सेकेन्डरी स्कुल ले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा निधीले देवी माध्यमिक विद्यालय लाई २–१ गोलले पराजित गर्दै पहिलो संस्करणको ट्रफी उचालेको हो।

प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा दुबै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा प्रवेश गरेपछि थप रोमाञ्चक बनेको थियो। निर्णायक क्षणमा निधीले गरेको गोल नै उपाधि जित्ने आधार बन्यो। खेल अवधिभर विद्यार्थी, अभिभावक र शिक्षकहरूको उल्लेख्य उपस्थितिले मैदान उत्साहमय बनेको थियो।

उपाधिसँगै निधी सेकेन्डरी स्कुलले १० हजार रुपैयाँ नगद, मेडल तथा ट्रफी प्राप्त गरेको छ। उपविजेता देवी माध्यमिक विद्यालयले ६ हजार रुपैयाँ नगदसहित मेडल र ट्रफी हात पारेको छ। आयोजक कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुल तेस्रो स्थानमा रहँदै ४ हजार ५०० रुपैयाँ नगदसहित सम्मानित भएको छ भने चौथो हुने टोलीलाई सान्त्वना मेडल र ट्रफी प्रदान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई आकर्षक ट्रफी प्रदान गरिएको थियो।

फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगितामा नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत गरी २० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक दीपक सिटौलाले जानकारी दिए। पहिलो संस्करणमै उल्लेखनीय सहभागिता देखिएकाले आगामी वर्षहरूमा प्रतियोगितालाई झापा जिल्लाभर विस्तार गर्ने योजना विद्यालयले बनाएको जनाएको छ।

फाइनल समारोह विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमकै अवसरमा विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा. केशवराज न्यौपानेले स्वर्गीय गुरुभक्त न्यौपानेको नाममा एक करोड रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्ने घोषणा गरे। उक्त कोषको ब्याजबाट हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग गरिने उनले बताए। विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने तथा खेलकुदमार्फत अनुशासन र नेतृत्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो।

विद्यालयमा हाल पूर्वप्राथमिकदेखि कक्षा १० सम्म १ हजार ५०० तथा कक्षा ११, १२ र बीबीएस/एसिसिए तहमा १ हजार विद्यार्थी अध्ययनरत रहेका छन्। शिक्षक तथा कर्मचारी गरी १५५ जना कार्यरत छन्। यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल व्यवस्थापन विषय सञ्चालन गर्ने तयारीसमेत विद्यालयले गरेको जनाएको छ।