बिर्तामोड, झापा। बिर्तामोड स्थित इडन गार्डेन एजुकेशन फाउण्डेशनले आफ्नो ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षता तथा बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रप्रति सम्मान प्रकट गर्दै एक मिनेट राष्ट्रगान तथा एक मिनेट मौनधारणबाट गरिएको थियो। त्यसपछि प्रमुख अतिथि भण्डारीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
शिक्षक कमल अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र आगामी योजनाबारे प्रकाश पार्नुभएको थियो। विद्यार्थीहरूले संस्कृत मन्त्रोच्चारणद्वारा अभिभावक तथा अतिथिहरूलाई स्वागत गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले नेपालको सांस्कृतिक पहिचान झल्काउने ३२ भन्दा बढी प्रस्तुति प्रस्तुत गरेका थिए। गीत, नृत्य, कविता, नाट्य प्रस्तुति लगायतका कार्यक्रमहरूले दर्शकको मन जितेका थिए। साना कक्षाका विद्यार्थीहरूले सरस्वती वन्दना प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक र भावनात्मक बनाएका थिए।
सो अवसरमा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू अनामिका थापा, सुदिक्षा उप्रेती, कृष्टल प्रसाई र सुरज गौतमलाई सम्मान गरिएको थियो।
त्यसैगरी २०८२ सालका वर्ष उत्कृष्ट विद्यार्थी संग्यान गौतम र प्राञ्जल पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट शिक्षकका रूपमा रूपेश कार्की र उत्कृष्ट सदन ‘हरियो सदन’लाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा कन्काई एजुकेसन फाउन्डेसनका प्रिन्सिपल पिम्बा लामा, नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, विद्यालयका सहायक प्राचार्य खेमराज आचार्य, बालबालिका तथा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल, मोफसल अनलाइन टेलिभिजनका सम्पादक भरत प्रसाईं, सूर्योदय टेलिभिजनका संवाददाता देव बास्कोटा, बिर्ताज्योति साप्ताहिकका तुलसी निरौला, इक्यान सदस्य देवेन्द्र उप्रेती, एमिटिका प्राचार्य आर.एम. ढकाल लगायत झापाका शिक्षाप्रेमी, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि भण्डारीले समयअनुसार विद्यालयहरू परिवर्तन हुन नसके प्रतिस्पर्धामा अगाडि बढ्न कठिन हुने बताउनुभयो। उहाँले संस्कारयुक्त शिक्षालाई प्राथमिकतामा राख्दै शिक्षण–सिकाइ प्रक्रिया अगाडि बढाएकोमा विद्यालय परिवारको प्रशंसा गर्नुभयो।

साथै, शिक्षक, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्ध बलियो भए मात्र गुणस्तरीय शिक्षण–सिकाइ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने धारणा व्यक्त गर्नुभयो।
विद्यालयका कोअर्डिनेटर गीताराम आचार्य र विद्यार्थीहरू चाँदनी माली, आयुष्मा रसाईली, बर्षा मैनाली, अर्पित मैनाली, कुशल बस्नेत, आयन अंसारी, दिप्सन गिरी, दृष्टी माझी, सलिना राई, सभ्यता शिवाकोटी, आश्रिया शंकर, रोनिषा प्रसाई, विजयता सुव्वा, सोनाली विश्वास, मुस्कान वेगम, विकल ओली, खुस्बु आचार्य, सम्राट साही, श्रीयान उप्रेती र क्रिष्टीना बस्नेतले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।
विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष मोहन अाचार्यले अभिभावकहरूको अथाह माया र साथ पाइरहेको उल्लेख गर्नुभयो।

उहाँले विद्यालयले पठन संस्कृति विकास गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जिकिर गर्नुभयो । उहाँले
बालबालिकाको चौतर्फी विकासमा विद्यालय प्रशासनले लागिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा विद्यालयका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो।
सम्मानित हुने शिक्षकहरू: मोनिका गिरी, गीता बास्तोला, सञ्जय राजवंशी, सुष्मा मोहरा, मेनुका पाठक, बिमला कँडेल, वर्षा कार्की तथा तुलसा निरौला।
त्यसैगरी, लक्की ड्रमार्फत भाग्यशाली अभिभावकका रूपमा चन्द्रकला गौतम चयन हुनुभएको थियो। उहाँलाई नगद रु. १,००० प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई जनही रु. ५,००० नगद पुरस्कार प्रदान गरिनेछ।
कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थीका रूपमा प्राञ्जल पोख्रेल र संग्यान गौतम सम्मानित भएका छन्। उनीहरूलाई विशेष प्रमाणपत्र प्रदान गरिएको थियो।
यसैबीच, सदन ग्रीन २०८१ को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई जनही रु. ५,००० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने घोषणा गरिएको विद्यालय प्रशासनले जनाएको छ।
उत्साह, अनुशासन र सांस्कृतिक विविधतासहित सम्पन्न वार्षिकोत्सवले विद्यालयको शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिप्रति प्रतिबद्धता झल्काएको विद्यालय प्रशासनले जनाएको छ।














