बिर्तामोड, फागुन १६ – वित्तीय कारोबारमा पारदर्शिता र सुशासन कायम राख्न बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिएको छ। संस्थाले आज एक कार्यक्रमबीच सम्पत्ति शुद्धीकरण (Money Laundering) तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी (Terrorist Financing) निवारण गर्ने उद्देश्यले ‘ट्रस्टएमएल सिस्टम’ (TrustAML System) को औपचारिक कार्यान्वयन प्रक्रिया सुरु गरेको छ।

डेटम सिस्टम्स प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको यो प्रणालीले सहकारीको जोखिम व्यवस्थापनलाई थप चुस्त बनाउने विश्वास गरिएको छ। कार्यक्रममा संस्थाका व्यवस्थापक सरोज दाहालले बदलिँदो परिवेशमा सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता रहेको उल्लेख गर्दै, यो सफ्टवेयरले संस्थाको विश्वसनीयतालाई अझ उचाइमा पुर्‍याउने बताउनु भयो।

यो प्रणालीको प्रयोगले संस्थामा स्वचालित रूपमा सदस्यको पेशा, स्थान र कारोबारको प्रकृतिका आधारमा जोखिमको स्तर निर्धारण गर्न मद्दत पुग्नेछ।

49b128f7-47e0-4acc-8ba6-5baff17010ed

त्यस्तै, गो-एमएल (GoAML) सँगको समन्वयले वित्तीय जानकारी इकाई (FIU) को प्रणालीमा शंकास्पद कारोबारको रिपोर्टिङ अब विद्युतीय माध्यमबाटै गर्न सहज हुनेछ। यसका अतिरिक्त, उच्चपदस्थ व्यक्ति (PEP) वा शंकास्पद गतिविधिका सदस्यहरूको प्रभावकारी निगरानी र अभिलेख व्यवस्थापन गर्न निरन्तर अनुगमनको सुविधासमेत उपलब्ध हुनेछ।

b1aaedce-46e4-47f2-a30b-8e95477e65c4उपाध्यक्ष (कार्यवाहक अध्यक्ष) राजेन्द्र प्रसाद गैतमको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा कर्मचारीहरूलाई सफ्टवेयर सञ्चालन विधि, कानुनी व्यवस्था र जोखिम न्यूनीकरणका उपायबारे प्रशिक्षण दिइएको थियो। तालिम विभाग प्रमुख वेद प्रकाश दवाडीद्वारा सञ्चालित यस कार्यक्रममा संस्थाका समिति, उपसमिति तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


संस्थाले लिएको यस कदमले सहकारीलाई नियमनकारी निकायको निर्देशन अनुरूप कानुनसम्मत बनाउनुका साथै सदस्यहरुको बचतको सुरक्षा र संस्थागत सुशासनमा नयाँ आयाम थपेको जनाइएको छ ।