झापाली गायक तथा गीतकार नगेन्द्र राजप्रसाई ले भक्तिभाव र लोकसंस्कृतिको समिश्रण प्रस्तुत गर्दै दुई फरक धारका गीत रेकर्ड गराउनुभएको छ।

दमकस्थित काव्य रेकर्डिङ स्टुडियो मा ‘जय बोलौँ पाथिभरा अम्बे’ शीर्षकको भजन तथा ‘साहुबाकी छोरी नाम रहेछ गोरी’ बोलको लोकगीत रेकर्ड गरिएको हो।

भक्तिभावले ओतप्रोत ‘जय बोलौँ पाथिभरा अम्बे’ भजनमा धार्मिक आस्था र सांस्कृतिक चेतनाको सशक्त अभिव्यक्ति प्रस्तुत गरिएको छ भने ‘साहुबाकी छोरी नाम रहेछ गोरी’ लोकगीतमा चुड्के भाकाको मिठाससँगै आधुनिक पुस्ताको चाहनालाई समेटिएको छ।

IMG_9591प्रसाईले पछिल्लो समय युवाहरूको रुचि र बजारको मागलाई मध्यनजर गर्दै सरल, कर्णप्रिय र सुन्दर शब्द संयोजनमार्फत उक्त लोकगीत तयार गर्नुभएको बताउनुभयो।

संगीत यात्रामा लामो अनुभव संगाल्नुभएका प्रसाईले वि.सं. २०४९ फागुन १९ गते रेडियो नेपाल मा ‘कठैमा बरिलै’ बोलको गीत रेकर्ड गराएर औपचारिक सांगीतिक यात्रा आरम्भ गर्नुभएको थियो। विशेषगरी भजन गायनमा रुचि राख्ने उहाँ विभिन्न सांस्कृतिक कार्यक्रम तथा रनिङशील प्रतियोगिताहरूमा उत्कृष्ट स्थान हासिल गर्दै आउनुभएको छ।

IMG_9589झापाको बिर्तामोड–४ निवासी प्रसाईले अब संगीतलाई निरन्तरता दिने उद्देश्यका साथ प्रत्येक वर्ष फरक धारका गीत श्रोता–दर्शकमाझ प्रस्तुत गर्ने योजना रहेको जानकारी दिनुभयो।

आज रेकर्ड गरिएका दुवै गीतमा शब्द, संगीत र स्वर स्वयं प्रसाईकै रहेको छ। गीतको एरेन्ज तथा रेकर्डिङ कार्य अग्रज गायक तथा संगीतकार अशोक थापा ले गर्नुभएको हो।

कोरस गायनमा सञ्चारकर्मी तथा स्रष्टा भरत प्रसाई तथा गायक–संगीतकार निरज पोखरेलले स्वर दिनुभएको छ।

02रेकर्डिङ सम्पन्न भएपछि स्टुडियोका सञ्चालकसमेत रहेका एरेन्जर अशोक थापाले लामो समयपछि अर्गानिक आवाजमा दुई फरक धारका गीत रेकर्ड गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो।

उहाँले यी गीतहरूले सांगीतिक बजारमा सकारात्मक छाप छोड्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै सञ्चारकर्मी तथा गीतका बजार व्यवस्थापक भरत प्रसाईले संगीतमा नयाँ फ्युजन शैलीको प्रयोग गरिएको उल्लेख गर्दै श्रोता–दर्शकले गीतलाई मन पराउनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

उहाँका अनुसार चाँडै नै दुवै गीतको म्युजिक भिडियो निर्माण गरिनेछ। म्युजिक भिडियोको छायांकन पाथिभारा क्षेत्रमा पर्ने कुटीडाँडा लगायत झापा जिल्लाका विभिन्न रमणीय स्थानहरूमा गरिने तयारी गरिएको छ।

निर्देशकका अनुसार धार्मिक तथा सांस्कृतिक परिवेशलाई दृश्यात्मक रूपमा जीवन्त बनाउँदै भिडियो तयार गरिनेछ। ‘साहुबाकी छोरी’ गीतमा दर्शकको चाहनाअनुसार सुन्दर शब्द र मौलिक लोकभाका समावेश गरिएकाले यो गीत लोकप्रिय बन्ने अपेक्षा गरिएको प्रचार संयोजक भरत प्रसाईले बताउनुभयो।

दुवै गीतका निर्माता कमला शिवाकोटी प्रसाई र शिशिर प्रसाई रहनुभएको छ। उनीहरूले यी गीतलाई भिडियोमार्फत व्यापक दर्शकमाझ पुर्‍याउने तयारी गरिरहेका छन्।

भजन र लोकगीत—दुई भिन्न धारका सिर्जनालाई एउटै समय सार्वजनिक गर्ने तयारीसँगै नगेन्द्र राजप्रसाईको सांगीतिक पुनरागमनलाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

सांगीतिक साधनामा निरन्तर लागिरहनुभएका प्रसाईको यो प्रयासले झापाली लोकसंगीत र भक्तिगीतको क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।