बिर्तामोड, झापा
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल साकाेसले व्यवस्थापन तहका कर्मचारी र सञ्चालक समिति सम्मिलित एक दिवसीय ‘ऋण जोखिम व्यवस्थापन गोष्ठी’ सोमबार झापाको सुरुङ्गामा सम्पन्न गरेको छ।
संस्थाले ऋण लगानी तथा असुलीका संशोधित मापदण्ड र कानुनी प्रक्रियाहरू कार्यान्वयनका क्रममा देखिएका द्विविधाहरु चिर्न तथा ऋण नीति र कार्यविधिमा भएका व्यवस्थाबारे अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

तालिम विभाग प्रमुख वेद प्रकाश दवाडीका अनुसार गोष्ठीमा सुरक्षित ऋण लगानी, प्रभावकारी असुली प्रक्रिया, ऋण नाेक्सानी व्यवस्था, कर्जा सूचना केन्द्र र कालो सूचीसम्बन्धी कानुनी प्रावधानबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमालले सहजीकरण गर्नुभएको थियो।
उहाँले क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, धितो मूल्याङ्कन, जोखिम पहिचान र व्यवस्थापन, ऋणको वर्गीकरण तथा भाखा नाघेको ऋण असुलीका उपायहरूबारे सहभागीहरुलाई जानकारी गराउनुभयो।

गोष्ठीमा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सेवा केन्द्र प्रमुखसहित ४४ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले गर्नुभएको थियो भने सचिव विश्वेश्वर प्रसाद लामिछाने र व्यवस्थापक सरोज दाहालले संस्थाको वित्तीय जोखिम न्यूनीकरण र सुरक्षित लगानीका विषयमा मन्तव्य राख्नुभएको थियो।














