नेपाली फिचर फिल्म 'एक मुठ्ठी बादल' आउँदो वर्षको जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। 

निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो।

फिल्मका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।

तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने फिल्मले तीव्र गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्ने बताइएको छ। 

फिल्मको लेखन तथा निर्देशन सहारा शर्माले गरेकी हुन्। अमेरिकाको न्युयोर्क बस्दै आएकी सहाराले यसअघि 'चेजिङ रेन्बोज' शीर्षकको फिल्म निर्देशन गरेकी थिइन् जुन २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ फिल्म थियो।

फिक्सन फिचरका साथ महोत्सवको उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी सहाराले यही महोत्सवको नेपाली पनोरोमा तर्फको शीर्ष पुरस्कार पनि जितेकी थिइन्। 

'एक मुठ्ठी बादल' ले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ।

फिल्मले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली फिल्मको रूपमा इतिहास कायम गरेको छ।