बिर्तामोड, झापा 

झापाको अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालाको आयोजनामा सम्पन्न श्री ब्रह्माण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठानबाट १४ लाखभन्दा बढी रकम बचत भएको छ।


संस्थाको स्वर्ण महोत्सव ९५०औँ वार्षिकोत्सव को अवसरमा गत माघ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको उक्त धार्मिक कार्यक्रममा कुल १४ लाख १२ हजार ९ सय २० रुपैयाँ ६ पैसा बचत भएको जानकारी दिइएको छ।


श्री शंकराचार्यपीठका व्यासाचार्य आचार्य लक्ष्मीप्रसाद खतिवडाका अनुसार अनुष्ठानमा आयतर्फ २२ लाख ३४ हजार ९ सय ५४ रुपैयाँ ६ पैसा संकलन भएको थियो भने व्ययतर्फ ८ लाख २२ हजार ३४ रुपैयाँ खर्च भएको थियो।


संस्थाका वरिष्ठ उपाध्यक्ष पण्डित शान्तीराम नेपालले कार्यक्रममा नगदसँगै ठूलो परिमाणमा अन्नदान समेत संकलन भएको बताए। उनका अनुसार अनुष्ठानका क्रममा करिब साढे ६ सय मन धान र ५० मन चामल संकलन भएको थियो।


शंकराचार्यपीठको ५०औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त धार्मिक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, भक्तजन र स्थानीयबासीप्रति आयोजकले आभार व्यक्त गरेका छन्।


कार्यक्रमको सहजीकरण शंकराचार्यपीठका सल्लाहकार संयोजक गोपिकृष्ण खतिवडाले गरेका थिए।