काठमाडौँ, २ चैत । म्याग्दी–१ बाट नवनिर्वाचित स्वतन्त्र सांसद एवं पूर्वशिक्षामन्त्री महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिवको नियुक्तिलाई ‘शतप्रतिशत गलत’ को संज्ञा दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गरेपछि सांसद पुनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिँदै यस्तो कदमको विरोध गरेका हुन्।
नेपालका पुराना राजनीतिक दलहरू नातावाद, चाकरीबाज र कृपावादकै कारण समाप्त भएको उल्लेख गर्दै पुनले नयाँ दलहरूलाई समेत समयमै सचेत हुन आग्रह गरेका छन्।
सांसद पुनले प्रधानमन्त्रीको यो कदमको घोर विरोध गर्दै नवनियुक्त अध्यक्ष श्रेष्ठलाई उक्त पद नलिन समेत सुझाएका छन्।
श्रेष्ठलाई सम्बोधन गर्दै उनले सानो लोभका कारण प्रधानमन्त्रीले कमाउनुभएको ऐतिहासिक इज्जत धुलोमा नमिलाउन आग्रह गरेका हुन्।
यसैगरी, पुनले यो नियुक्तिबारे अब बन्ने नयाँ सरकारले विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा राख्दै यही शैलीमा काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिने चेतावनी दिएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त सिन्धुलीका आदर्शकुमार श्रेष्ठ आगामी ५ वर्षका लागि मनोनयन भएका हुन्।
कोषको संरक्षक समेत रहेकी प्रधानमन्त्री कार्कीले अघिल्ला अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि रिक्त रहेको उक्त स्थानमा श्रेष्ठलाई ल्याएकी हुन्।
यस नियुक्तिले राजनीतिक वृत्तमा स्वार्थको द्वन्द्व र शक्ति दुरुपयोगको बहसलाई पुनः सतहमा ल्याएको छ।














