बिर्तामोड । पवन ढकाल
चलचित्र पत्रकार सङ्घ नेपाल झापा शाखाले आफ्नो प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। आज झापाको बिर्तामोडमा सम्पन्न अधिवेशनले एकराज प्रधानको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा सुरज प्रधान, सह–सचिवमा अभिषेक धमला र कोषाध्यक्षमा अस्मिता साँखी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा भरत प्रसाई, रवि किरण बान्तवा, सरोज भट्टराई, टिकाराम बास्तोला, देवीचन्द्र बास्कोटा, राजेश आचार्य, सोफिया खड्का, सन्देश सहनी, वीरेन्द्र तिवारी, सबिना लिम्बु र सपना रिमाल रहेका छन्

अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा सुनिता तामाङ र विकिरण बान्तवा तथा प्रदेश प्रतिनिधिका रूपमा रमेश तिवारी, विष्णुकुल श्रेष्ठ, सुनिरा मैनाली, सन्तोष न्यौपाने, सन्तोष शर्मा र उद्धव पुरीलाई चयन गरेको छ।

चलचित्र पत्रकार सङ्घ नेपाल झापा शाखाका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक नरेन्द्र बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा झापा शाखाकी सदस्य सुनिता तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको औचित्यमाथि सभाध्यक्ष तिवारीले प्रकाश पारेका थिए।
अध्यक्ष तिवारीले मुलुकको राजनीतिक अवस्था र प्राकृतिक प्रकोपका कारण आफ्नो कार्यकालमा अपेक्षाअनुसार काम गर्न नसकिएको भए पनि चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारहरूको सक्रियता पछिल्लो समय उल्लेखनीय रूपमा बढेको बताउनुभयो।
उहाँले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै झापाली पत्रकारहरूको साथ सहयोग आफूले सधैं पाएको उल्लेख गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले चलचित्र पत्रकारहरूले सन्तुलित समीक्षा गर्दा पनि कतिपय निर्माता तथा निर्देशकहरू असन्तुष्ट हुने गरेको उल्लेख गर्नुभयो।
उहाँले पत्रकारहरूको समीक्षा र समाचारकै कारण धेरै चलचित्र सफल भएको तथ्य निर्माता–निर्देशकहरूले बिर्सन नहुने बताउनुभयो। कलाकार, निर्माता र पत्रकारको संयुक्त प्रयासले मात्र चलचित्रले प्रभावकारी प्रचार पाउने उहाँको भनाइ थियो।
त्यसैगरी चलचित्र पत्रकार सङ्घ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईले चलचित्र पत्रकारिता आफैंमा सुन्दर र रोचक क्षेत्र भएकाले पछिल्लो समय यसप्रति आकर्षण बढ्दै गएको बताउनुभयो।
पत्रकारितालाई राजनीतिभन्दा माथि राखेर सन्तुलित र जिम्मेवार ढंगले काम गर्नुपर्ने सुझाव दिँदै उहाँले कोशी प्रदेशमै झापा जिल्लाले अधिवेशन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
नेपाल चलचित्रकर्मी सङ्घ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले कोशी प्रदेशमा बलिउडका भारतीय चलचित्रहरू समेत छायांकन भइरहेकाले यहाँको कला, संस्कृति र प्राकृतिक सुन्दरता विश्व समुदायसम्म पुग्ने क्रम बढिरहेको बताउनुभयो।
त्यसलाई अझ प्रभावकारी रूपमा प्रचार गर्न चलचित्र पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो।














