काठमाडौं, १ चैत । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको असरका कारण विशेषगरी पहाडी र हिमाली क्षेत्रमा मौसम बदली हुने क्रम जारी रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली भएको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा बदली रहने जनाएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।
यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
रातिको समयमा पनि पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहँदा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ तथा सम्भावित हिमपातका कारण दैनिक जनजीवन, यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।














