काठमाडौँ, ३ चैत । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका करिब १३ हजार व्यक्तिलाई नेपालको अध्यागमन प्रशासनले कालोसूचीमा राखेको जनाएको छ।
यस सूचीमा रहेका व्यक्तिहरूलाई देशका अन्तर्राष्ट्रिय विमानस्थल तथा स्थल नाकाबाट आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ।
अध्यागमन विभागका अनुसार सूचीमा करिब ८ हजार नेपाली नागरिक र झन्डै ५ हजार विदेशी नागरिक समेटिएका छन्।
नेपालमा अपराध गरेर विदेश फरार भएका, विदेशमा अपराध गरेर नेपाल प्रवेश गरेका तथा अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेका व्यक्तिहरूलाई कालोसूचीमा राखिएको हो।
यस्तै, गत २४ भदौमा भएको प्रदर्शनका क्रममा कारागार, बन्दीगृह र प्रहरी हिरासत कक्ष तोडेर भागेका ६ सय १२ कैदीबन्दीलाई पनि उक्त सूचीमा राखिएको छ।
जेलबाट फरार भएकामध्ये करिब ५ सय भारतीय नागरिक र तेस्रो मुलुकका एक सयभन्दा बढी व्यक्ति अझै पक्राउ परेका छैनन्।
उनीहरू हवाई मार्ग हुँदै तेस्रो देशतर्फ भाग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै गत असोजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी कडा पारिएको विभागले जनाएको छ।
त्यसका साथै स्थल मार्गका अध्यागमन तथा सीमा प्रशासन कार्यालयमार्फत पनि ती व्यक्तिहरूको आवतजावतमा विशेष निगरानी राखिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।