शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ मा रहेको शनिश्चरे फुटबल क्लबले ८ देखि १३ वर्ष उमेर समूहका बालबालिका लक्षित ग्रासरुट फुटबल ट्रेनिङ सञ्चालन गर्ने भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा उक्त ट्रेनिङ सञ्चालन गर्ने योजना रहेको क्लबका सल्लाहकार एवम् प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिएका हुन् ।
अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा सञ्चालन हुने ट्रेनिङको अवधि तीन महिना हुनेछ । पालिकाभित्रका इच्छुक बालबालिका सहभागी हुनसक्ने उक्त ट्रेनिङका सहभागीहरुसँग न्यूनतम शुल्क लिने बताइएको छ ।
विगत तीन वर्षदेखि वडास्तरिय हुँदै जिल्लास्तरीय अन्तरपालिका यू–१८ फुटबल सम्पन्न गरेको क्लबले प्रतियोगिताबाट छनौट भएका अर्जुनधारा नगरपालिकाका खेलाडीहरुको लागि निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसैबीच, गत माघ ११ देखि १९ गतेसम्म सञ्चालन भएको झापा जिल्ला अन्तरपालिका यू–१८ नकआउट फुटबल प्रतियोगितामा क्लबले ५ लाखभन्दा बढी रकम बचत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सार्वजनिक गरिएको प्रतिवेदनअनुसार१५ लाख ८२ हजार २३४ रुपैयाँ, आम्दानी हुँदा १० लाख ७७ हजार ९१० रुपैयाँ खर्च भएको छ भने बचत पाँच लाख चार हजार ३२४ रुपैयाँ रहेको छ ।
त्यसैगरी क्लबले फुटबल खेल र खेलाडीहरुको वृत्तिविकासका लागि स्थापना गरेको अक्षयकोषमा यस वर्षको बचतबाट एक लाख रुपैयाँ जम्मा गर्ने बताइएको छ ।
यसअघि उक्त कोषमा एक लाख ५५ हजार रुपैयाँ रहेको क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।
सामाजिक समस्याको रुपमा देखिएको लागुऔषध न्यूनीकरण गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुसँग हातेमालो गरी विभिन्न किसिमका कार्यक्रमको आयोजनासँगै त्यस किसिमको कार्यक्रममा सहभागी हुने क्लबको लक्ष्य रहेको छ ।














