झापाकाे अर्जुनधारा–११ स्थित जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानले झापाका पत्रकार सन्ताेष न्याैपानेलाई पुरस्कृत गरेकाे छ । प्रतिष्ठानको १६औँ वार्षिक साधारणसभामाकाे अवसर पारेर न्याैपानेलाई आज सम्मान गरेकाे हाे ।
पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै एभिन्यूज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाईन न्युज डटकमका सम्पादक सन्तोष न्यौपानेलाई पुरस्कृत गरेकाे हाे ।
आज प्रतिष्ठानकाे सभाहल बुट्टाबारीमा आयोजित कार्यक्रममा कोशी प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री तिलचन पाठकले न्यौपानेलाई सम्मानपत्र , दोसल्ला र नगद सहित सम्मान गरेका हुन् ।
पत्रकार न्याैपाने झणडै दुई दशकदेखि झापालाई कर्मथलो बनाएर विभिन्न सञ्चार माध्यममा काम गरिरहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ बर्षाका अनुसार न्यौपानेले पत्रकारितामार्फत संस्थालाई पुर्याएको योगदानको मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।
स्थापनाकालदेखि प्रतिष्ठानले ११८ जनालाई सम्मान गरिसकेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा १० जना विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
कार्यक्रममा सम्मानित विद्यार्थी भेषराज श्रेष्ठले प्राप्त नगद रकम संस्थाको उन्नयनका लागि पुनः हस्तान्तरण गर्नुका साथै बराबरको मूल्यको कुर्सीसमेत सहयोग गरेका थिए।

अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०६६ सालमा स्थापना भएको संस्थाले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्दै विशिष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरे ।
कार्यक्रममा शोभा श्रेष्ठले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा स्वर्ग आश्रम भजन मण्डलीका संयाेजक तथा सामाजिक अभियन्ता गणेश ढुङ्गानाले स्वागत गीत प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि मन्त्री पाठकले कोशी प्रदेश सरकारले नेवारी कुलदेवता बाघभैरव गुम्बा निर्माणका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
साथै, कोशी प्रदेश नेपालकै उत्कृष्ट प्रदेश भएको उल्लेख गर्दै कचनकवलदेखि सगरमाथासम्मको भौगोलिक विविधता यही प्रदेशमा रहेको बताए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा श्रेष्ठ बन्धुहरूको उल्लेख्य उपस्थिति थियो।
वि.सं. २०६६ साल फागुन १९ गते त्रिफला पुस्तकालय धुलाबारी, झापाका संस्थापक प्रेम प्रकाश पोख्रेल फलारीको प्रेरणाबाट स्थापना भएको प्रतिष्ठानले हालसम्म समाजका विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्दै आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा श्रेष्ठ बन्धुहरूको उल्लेख्य उपस्थिति थियो।














