चारआली । भरत भाब्क प्रसाई   आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक साझा संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु) को १२औँ राष्ट्रिय महाधिवेशन झापा जिल्लाको भद्रपुर–चन्द्रगढीमा सम्पन्न हुने भएको छ।

विसं २०४६ साल भदौ १७ गते स्थापना भएको कियाचुले विगत लामो समयदेखि याक्थुङ लिम्बु समुदायको सांस्कृतिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

कियाचु केन्द्रीय समितिको आयोजनामा, कियाचु जिल्ला कार्यसमिति झापाको व्यवस्थापन तथा कियाचु भद्रपुर नगर कार्यसमितिको सह–व्यवस्थापनमा महाधिवेशन २०८२ साल चैत १२, १३ र १४ गते आयोजना हुने जनाइएको छ।

महाधिवेशनको उद्घाटन चैत १२ गते चन्द्रगढीस्थित मेची रङ्गशालाअगाडिको खुल्ला मैदानमा हुनेछ। उद्घाटन समारोहमा कियाचुका संस्थापक उपाध्यक्ष, पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री तथा वर्तमान सल्लाहकार रकम  चेम्जोङको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ।

उद्घाटनअघि याक्थुङ लिम्बु जातिको सांस्कृतिक पहिचान झल्कने भेषभूषासहित क्याबरुङ , केलाङ नाच लगायतका सांस्कृतिक झाँकी प्रस्तुत गर्दै बजार परिक्रमा गरिनेछ।

IMG_9951महाधिवेशनमा लिम्बुवानका नौ जिल्ला, उपत्यकाका तीन जिल्ला, चितवन, ओखलढुंगा र कास्की (पोखरा) सहित १५ जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ। साथै, कोशी प्रदेश अन्तर्गत लिम्बुवान प्रदेश कार्यसमिति, बागमती प्रदेश अन्तर्गत नेवा ताम्सालिङ प्रदेश कार्यसमिति तथा ६ वटा विषयगत संगठनका प्रतिनिधि गरी करिब ५०० भन्दा बढीको सहभागिता रहने जनाइएको छ।

03यसका अतिरिक्त व्यवस्थापक कियाचु झापा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पनि उल्लेख्य उपस्थिति रहनेछ।

महाधिवेशनअन्तर्गत चैत १३ र १४ गते बन्दसत्र भद्रपुरको सगरमाथा चोकस्थित होटल बेग्लोमा सञ्चालन हुनेछ। बन्दसत्रमा संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि सघन छलफल गरी पारित गरिनेछ।

महाधिवेशनमा मुकुमलुङ संरक्षण, ‘नो केबलकार’ अभियान, प्रदेश नं. १ लाई लिम्बुवान–किरात नामकरण, नाे कोशी जस्ता महत्वपूर्ण विषयहरू, याक्थुङ लिम्बु भाषाको वर्तमान अवस्था, प्रदेश नं. १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कार्यान्वयन, समुदायको मृत्यु संस्कारमा देखिएका परिवर्तन तथा प्रभाव, आदिवासी संस्थासम्बन्धी ऐन–कानुन लगायतका एजेण्डामाथि विस्तृत छलफल गरिनेछ।

6१२औँ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति समेत निर्वाचित गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कियाचुका संघीय महासचिव निरन्ती तुम्बोपा, संघीय सदस्य अमृत योङहाङ, संघीय सदस्य चन्द्रकला पालुङ्वा लगायत लिम्बु समुदायसँग सम्बन्धित प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ ख्याकले गरेका थिए।