काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार बुधबार देशका पहाडी तथा हिमाली भू–भागमा बदली बढ्ने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार अहिले कोसी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ।
दिउँसोतर्फ कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने जनाइएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोसी प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।














