काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै श्रीलङ्का सरकारले देशभरका सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी विशेष निर्देशिका जारी गरेको छ।
श्रीलङ्काको प्रमुख आवश्यक सेवा कार्यालयले मन्त्रालयका सचिव, प्रादेशिक तथा जिल्ला प्रमुख र सरकारी संस्थाहरूलाई सार्वजनिक क्षेत्रमा इन्धन र बिजुलीको खपत तत्काल घटाउन निर्देशन दिएको श्रीलङ्काली सञ्चारमाध्यमले बताए।
नयाँ निर्देशिका अनुसार सरकारी कर्मचारीहरूलाई व्यक्तिगत सवारीसाधनको सट्टा सार्वजनिक वा सामूहिक यातायात प्रयोग गर्न प्रोत्साहित गरिएको छ। कार्यालय प्रयोजनका लागि सवारीसाधनको सङ्ख्या घटाउन र दैनिक यातायात योजना अनिवार्य रूपमा तयार गर्न सरकारी निकायहरूलाई निर्देशन दिइएको छ।
यसका साथै, ऊर्जा बचतका लागि कार्यालयहरूमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग गर्न, एयर कन्डिसनको सट्टा पङ्खा चलाउन र लिफ्टको प्रयोग सीमित गरी सिँढी चढ्न प्रोत्साहन गर्ने नीति लिइएको छ।
स्थानीय सरकारका निकायहरूलाई अनावश्यक समयमा सडक बत्ती निभाउन र उच्च सुरक्षा क्षेत्रबाहेक अन्य स्थानमा सडक बत्ती अस्थायी रूपमा बन्द गर्न समेत भनिएको छ।
निर्देशिकाले प्रविधिको प्रयोग गरी सम्भव भएसम्म कर्मचारीलाई घरबाटै कामगर्न अनुमति दिन कार्यालय प्रमुखहरूलाई प्रेरित गरेको छ। राष्ट्रिय ऊर्जा सुरक्षाका लागि सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्दै जनतामाझ उदाहरण प्रस्तुत गर्न र संरक्षण प्रयासमा पूर्ण समर्थन जनाउन सरकारले आग्रह गरेको बताए।














