बिर्तामोड । भरत प्रसाई, झापाको बिर्तामोडमा साहित्यिक माहोल झन् सजीव बनेको छ। साहित्य चौतारी बिर्तामोड झापा नेपाल र कोशी साहित्य कला परिषद् नेपालबीच आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोशी साहित्य कला परिषद् नेपालका अध्यक्ष केशु बिरहीले आफ्नो टोलीको भ्रमण उद्देश्यबारे जानकारी गराउँदै साहित्यिक सद्भाव यात्रामार्फत देशभरका स्रष्टा र संस्थाबीच सहकार्य बढाउने लक्ष्य रहेको बताउनुभयो।
झापाका साहित्यिक संस्थाहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्दै उहाँले साहित्य चौतारीले पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गर्नुभयो।
उहाँले साहित्यलाई राजनीतिभन्दा अलग राख्नुपर्ने धारणा राख्दै संस्थागत कार्यक्रममा राजनीतिक प्रभाव कम गर्न आग्रह समेत गर्नुभयो। कार्यक्रममा प्रा.डा. भीम खतिवडाले साहित्यले समाज परिवर्तनमा खेलेको भूमिकामाथि विश्लेषणात्मक मन्तव्य राख्नुभयो।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले साहित्य चौतारीको स्थापना कालदेखि हालसम्मका गतिविधि र उपलब्धिहरूबारे विस्तृत जानकारी दिनुभयो। सो अवसरमा विश्व कविता दिवसको सन्दर्भ पारेर मिना अधिकारी, चित्रा पौडेल तथा डा. छवि बैरागी घिमिरेले आफ्ना रचनाहरू वाचन गर्दै कार्यक्रमलाई साहित्यिक रंग दिएका थिए।
अन्तरक्रियामा कोशी साहित्य कला परिषद्का सहसंयोजक शारदा दाहाल भण्डारी, कोषाध्यक्ष चिरंजीवी काफ्ले, सचिव नवराज नवसिला, सदस्य मनोज कार्की, सल्लाहकारहरू प्रा.डा. भीम खतिवडा र डा. छवि बैरागी घिमिरे लगायतको उपस्थिति रहेको थियो।

यसैबीच, कार्यक्रममा सहभागीहरूले साहित्य चौतारीसँग आबद्ध परिवारका सदस्य तथा समाजसेवी दुर्गादेवी ओलीको निधनको पाँचौं दिनको पुण्यतिथिमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उहाँको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै, साहित्य चौतारी परिवारले स्वर्गीय ओलीको निवासमा पुगेर समवेदना प्रकट गरेको जनाएको छ।
कार्यक्रमको अन्त्यमा साहित्य चौतारीका सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो।














