झापा — नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको अर्जुनधारा नगरपालिका–११ स्थित श्री महारानीगंज माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई २ सय ४४ थान पोशाक वितरण गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई टीका, माला र खादा लगाई विदाइ समेत गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
त्यसैगरी, वडा नम्बर ११ का वडा अध्यक्ष खगेन्द्र इङनामले यस्ता कार्यक्रमले विद्यार्थीहरूको विद्यालय र शिक्षाप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले सामुदायिक विद्यालयका विद्यार्थीहरूको शिक्षामा सहयोग पुग्ने उद्देश्यले गरिएको पोशाक वितरणलाई सराहनीय कार्यको रूपमा उल्लेख गर्दै बैंकप्रति आभार व्यक्त गर्नुभयो।
साथै, आगामी दिनमा वडास्तरबाट विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

विसं १०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २६१ जना विद्यार्थी अध्ययनरत छन्।
कार्यक्रममा प्रमुख अतिथि जोशीले सामाजिक उत्तरदायित्व अन्तर्गत सानो सहयोगमार्फत भविष्यका कर्णधार विद्यार्थीहरूसँग समय बिताउन पाउँदा खुसी लागेको बताउनुभयो।
उहाँले समाज रूपान्तरणमा बालबालिकाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सिकाइ प्रणालीलाई समाजमुखी, संस्कृतिमुखी तथा प्रविधिमुखी बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बैंकका बिर्तामोड शाखा प्रमुख सन्तोष अधिकारी, वडा सदस्य केशव अधिकारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोपीचन्द्र खरेल, भूमिदाता कृष्णप्रसाद दाहाल, चन्दादाता कुमार प्रधान लगायत स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष खतिवडाले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेको तीन महिनामात्र भएको उल्लेख गर्दै पहिलो कार्यक्रममै अभिभावकहरूको उल्लेखनीय सहभागिताले थप उत्साह मिलेको बताउनुभयो।
उहाँले आगामी दिनमा अभिभावक, स्थानीय नागरिक तथा सरोकारवालाहरूको सुझाव र सहकार्यमा विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बुले गर्नुभएको थियो।














