काठमाडौं । केपी शर्मा ओलीरमेश लेखकलाई पक्राउ गरेपछि प्रहरीले उनीहरूको स्वास्थ्य परीक्षण प्रक्रिया अघि बढाएको छ।

भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासबाट शनिबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। हाल दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नु नियमित प्रक्रिया हो। स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको पुष्टि भएमा दुवै जनालाई हिरासतमा राखिनेछ।

आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई म्याद थपका लागि अदालत उपस्थित गराउन नसकिने भएको छ। त्यसैले उनीहरू आजै हिरासतमा रहने सम्भावना रहेको प्रहरीले जनाएको छ।

प्रहरी परिसरमै रहेका ओली र लेखकले कानूनी परामर्शसमेत अघि बढाएका छन्।

उनीहरूमाथि गत २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोग लागेको छ। मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ व्यवस्था उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।