झापा, बिर्तामोड–६ स्थित बेस्ट फ्युचर स्कुल झापाले कक्षा ४ का विद्यार्थीहरूलाई विदाई गर्दै भव्य रूपमा दीक्षान्त समारोह सम्पन्न गरेको छ।

सिटी सेन्टरको सभाहलमा आयोजित कार्यक्रममा युकेजीबाट कक्षा १ मा उक्लिएका २२ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

IMG_0293

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन बिर्तामोड नगर कमिटीका सह–कोषाध्यक्ष तथा कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक चम्लागाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल पूजा दाहालले अतिथिहरूलाई स्वागत गर्दै साना नानीहरूलाई विदाई गर्दा भावुक भएको बताइन्।

उनले विद्यालयले सधैं विद्यार्थीहरूको समग्र शैक्षिक उन्नयनमा ध्यान दिँदै गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरिन्।

IMG_0150

प्रमुख अतिथि दीपक चम्लागाईंले बेस्ट फ्युचर स्कुलले विद्यार्थीहरूको हौसला बढाउने उद्देश्यले युकेजीबाट कक्षा १ मा उक्लिएका विद्यार्थीहरूलाई सम्मान गर्ने नयाँ अभ्यासको थालनी गरेको बताए।

उनले अध्यक्ष सुरेन्द्र खरेलको लामो शैक्षिक अनुभवका कारण विद्यालय सफलतापूर्वक सञ्चालन भइरहेको उल्लेख गर्दै विद्यालय अभिभावक र विद्यार्थीहरूको रोजाइमा पर्नुमा व्यवस्थापन समिति र शिक्षकहरूको जिम्मेवारी तथा जवाफदेहिता प्रमुख कारण रहेको धारणा व्यक्त गरे।


IMG_0243कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रेसिका आचार्य लगायतले शुभकामना मन्तव्य राख्दै दीक्षित कक्षा ४ का विद्यार्थीहरूको असल संस्कार र स्वभाव विद्यालयले सधैं स्मरण गरिरहने बताए।

कार्यक्रममा दीक्षित विद्यार्थी सफल अधिकारीले मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरेका थिए।

हाल विद्यालयमा युकेजीमा २३ जना र कक्षा ४ मा ९ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कुल १६ जना शिक्षिकाहरू कार्यरत छन्।

कार्यक्रममा कक्षा ४ की विद्यार्थी शिवाना थापा लगायतले आफ्ना अनुभव सुनाउँदै उपस्थित अभिभावकहरूलाई भावुक बनाएका थिए।

IMG_0162

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै २०८४ सालदेखि नयाँ भवन संरचनामा कक्षा ५ सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

विद्यालयले शिक्षण सिकाइसँगै बालबालिकालाई संस्कार, अनुशासन र आफ्नो पहिचान सिकाउँदै भविष्यका लागि दक्ष जनशक्ति निर्माणमा जोड दिइरहेको प्रिन्सिपल पूजा दाहालले बताइन्।

कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ सालमा स्थापना भएको विद्यालयले बालमैत्री शिक्षण पद्धतिका माध्यमबाट अभिभावकहरूको मन जित्न सफल भएको  छ।