झापा — भरत राज प्रसाई  “सीमापार संस्कृति, सम्पदा र पर्यटनको महोत्सव” भन्ने मूल नाराका साथ कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ आयोजना हुने भएको छ। बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले उत्सवबारे विस्तृत जानकारी दिएको हो।

आगामी चैत २४ र २५ गते सञ्चालन हुने महोत्सवमा मेची कोरिडोर अन्तर्गत नेपालतर्फका १८ र बङ्गाल क्षेत्रतर्फका १२ गरी कुल ३० वटा स्टल राखिने पर्यटन कार्यालय काँकरभिटाका प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यक्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्य, स्थानीय उत्पादन तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा विशेष जोड दिइनेछ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै खतिवडाले जनस्तरका सम्बन्धमार्फत नेपाल र बङ्गालबीच सांस्कृतिक आदान–प्रदान अभिवृद्धि गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताउनुभयो।

उहाँले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रबारे एकअर्कालाई चिनाउने माध्यमका रूपमा कार्यक्रम उपयोगी हुने उल्लेख गर्नुभयो।

उत्सवमा चित्रकला तथा कोशी प्रदेशका विभिन्न स्थान समेटिएको फोटो प्रदर्शनी पनि रहनेछ। साथै, आगन्तुकहरूका लागि होमस्टे (घरवास) को व्यवस्था गरिने आयोजकले जनाएको छ।

IMG_0346कार्यक्रमकी संयोजक इन्दिरा श्रेष्ठले “कोशीमा बङ्गाल” अवधारणालाई साकार पार्न सञ्चारकर्मी, व्यवसायी, संस्कृतिविद् र आम नागरिकको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

उहाँका अनुसार नेपाली भाषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्दै कोशी क्षेत्रका पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको छ।

उत्सवको पहिलो दिन बङ्गाली सांस्कृतिक महोत्सवका रूपमा बङ्गाल क्षेत्रको सभ्यता, संस्कृति र जीवनशैली झल्काउने विविध प्रस्तुति रहनेछन्। त्यसैगरी नेपाली पहिचान झल्काउने साकेला नृत्य, सन्थाल नृत्य, मुर्चुङ्गा लगायतका मौलिक लोकसंस्कृति तथा भेषभूषा आधारित प्रस्तुति पनि समावेश गरिने खतिवडाले जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल र बङ्गाल क्षेत्रका संस्कृतिविद्हरूबीच प्यानल छलफल समेत आयोजना गरिनेछ, जसले सीमापार सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

पर्यटन अभियन्ता अर्जुन कार्कीले काँकरभिट्टा नाकाबाट नेपाल भित्रिने भारतीय पर्यटकलाई सहज वातावरण सिर्जना गर्न प्रभावकारी व्यवस्थापन आवश्यक रहेको औंल्याउनुभयो।

IMG_0363

उहाँले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन संस्कृतिविद्हरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको उक्त कार्यक्रम पर्यटन पत्रकार मञ्चको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ।

संयोजक श्रेष्ठका अनुसार यस उत्सवले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न तथा पर्यटन क्षेत्रका सम्भावनालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।