झापाको भद्रपुर मा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘चन्द्रगढी महिला गोल्डकप’ नाम दिइएको प्रतियोगिता वैशाख ५ देखि १४ गतेसम्म मेची रंगशाला मा सञ्चालन हुने तय भएको छ, जसले नेपाली महिला फुटबलमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक चन्द्रगढी युवा क्लबले प्रतियोगितालाई दीर्घकालीन रूपमा नेपालकै प्रतिष्ठित महिला फुटबल प्रतियोगिताका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको जानकारी दिएको हो।

प्रतियोगितामा यसपटक उच्च पुरस्कार राशी राखिएको छ, जहाँ विजेता टोलीले ११ लाख रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। आयोजकका अनुसार यो पुरस्कार राशी नेपालमा महिला फुटबलतर्फकै सर्वाधिक हो।

प्रतियोगितामा घरेलु र अन्तर्राष्ट्रिय टोलीहरूको उल्लेख्य सहभागिता रहनेछ। नेपालका विभागीय क्लबहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लबनेपाल पुलिस क्लब का महिला टोलीहरू मैदानमा उत्रिने छन्।

त्यस्तै, चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लबका महिला टिमहरू पनि सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय सहभागिताअन्तर्गत भारत र भुटान का टोलीहरूका साथै अन्य दुई एसियाली देशका क्लबहरूलाई पनि आमन्त्रण गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ। ‘मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा उच्च गोलकर्तालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगदसहित ट्रफी दिइनेछ।

प्रतियोगितालाई सफल बनाउन भौतिक पूर्वाधारतर्फ पनि तीव्र काम भइरहेको छ। विशेषगरी मेची रंगशाला को स्तरोन्नति, दर्शक क्षमताअनुसार अस्थायी प्यारापिट निर्माण तथा मैदान सुधारको काम चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजकका अनुसार प्रतियोगिताको कुल लागत करिब एक करोड रुपैयाँ अनुमान गरिएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक जोम साई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार सजिलो नेटले प्रायोजन गरेको छ। साथै भद्रपुर नगरपालिका तथा वडा कार्यालयहरूले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

महिला फुटबलको विकास र प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको यस प्रतियोगिताले झापालाई ‘फुटबल हब’का रूपमा स्थापित गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ।

आगामी वर्षहरूमा पनि प्रतियोगितालाई निरन्तरता दिँदै अझ बृहत् बनाउने योजना अघि सारिएको छ।

आयोजकले प्रतियोगिता सफल पार्न झापाका उद्योगी, व्यवसायी, खेलप्रेमी, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।