झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी विद्यालयले आधुनिक शिक्षासँगै पूर्वीय संस्कारलाई जोड्दै एक विशेष कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयको नियमित बिहानी एसेम्ली (प्रार्थना सभा) का अवसरमा आज विद्यालय प्राङ्गणमा भव्य रूपमा ‘स्वस्तिवाचन’ कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रममार्फत विद्यालयले बालबालिकालाई सानै उमेरदेखि नै आफ्नो धर्म, संस्कृति र वैदिक परम्पराप्रति जागरूक बनाउने प्रयास गरेको जनाएको छ।
विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सरोज पौडेलको पहलमा सुरु गरिएको यो अभ्यास मन्टेश्वरी शिक्षामा नयाँ र मौलिक प्रयोगका रूपमा लिइएको छ।
उहाँका अनुसार विद्यालयले केवल किताबी ज्ञान मात्र नभई बालबालिकाको मानसिक, नैतिक र आध्यात्मिक विकासलाई समेत प्राथमिकतामा राखेको छ। साना बालबालिकाका लागि यस्तो अभ्यास नौलो भए पनि यसले उनीहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

आजको एसेम्लीमा गरिएको स्वस्तिवाचनका क्रममा वैदिक मन्त्रहरूको लयबद्ध उच्चारणले विद्यालयको वातावरण शान्त र ऊर्जावान बनेको देखिएको थियो। यस्तो अभ्यासले बालबालिकामा एकाग्रता अभिवृद्धि गर्न, धैर्यता र अनुशासन विकास गर्न तथा समग्र वातावरणमा सकारात्मक ऊर्जा प्रवाह गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
प्रिन्सिपल पौडेलले आधुनिक प्रविधिसँगै संस्कारयुक्त शिक्षा प्रदान गर्नु समयको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीलाई विश्वस्तरीय नागरिक बनाउने लक्ष्य राखिएको बताउनुभयो।
उहाँले बालबालिकाले आफ्नो मौलिक पहिचान नबिर्सून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार स्वस्तिवाचन केवल धार्मिक क्रियाकलाप मात्र नभई मानसिक र आध्यात्मिक सन्तुलन कायम गर्न सहयोग गर्ने एक प्रकारको ध्वनि उपचार पनि हो।

विद्यालयले सुरु गरेको यस अभ्यासले स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया पाएको छ। एसेम्लीमा सहभागी शिक्षक, कर्मचारी तथा बालबालिकाहरूले सामूहिक रूपमा मन्त्रोच्चारण गर्दा वातावरण उत्साहजनक र अनुशासित बनेको थियो।
अभिभावकहरूले पनि विद्यालयको यस प्रयासको प्रशंसा गर्दै यस्ता गतिविधिले बालबालिकामा नैतिक मूल्य र संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन्।
संस्कारसहितको मन्टेश्वरी शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो प्रयासले झापाका अन्य शैक्षिक संस्थाहरूका लागि समेत प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।














