झापा, बिर्तामोड — बिर्तामोड–३ स्थित युरो किड्स स्कुल झापाले युराे सिनियर कक्षाका विद्यार्थीहरूलाई विदाई गर्दै भव्य रूपमा दीक्षान्त समारोह तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
चारपानेस्थित परशुराम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा युरो सिनियरबाट उत्तीर्ण भएका १२ जना विद्यार्थीलाई विदाई गरिएको थियो।

कार्यक्रमको उद्घाटन विद्यालयकी प्रिन्सिपल सुनिता केसी र कोअर्डिनेटर प्रियंका झाले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। सो अवसरमा प्रिन्सिपल केसीले साना बालबालिकालाई विदाई गर्नुपर्दा आफू भावुक भएको बताउँदै विद्यालयले संस्कार, संस्कृति तथा बाल मनोविज्ञानलाई प्राथमिकतामा राखी प्रत्येक वर्ष १२ भन्दा बढी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।
कार्यक्रममा युरो सिनियर कक्षाका विद्यार्थीहरूले विदाई मन्तव्य प्रस्तुत गर्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरेका थिए।
साथै, सिनियर पीजीका विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक नृत्यले उपस्थित अभिभावक तथा अतिथिहरूलाई भावुक बनाएको थियो।
कार्यक्रमको सुरुवात गणेश वन्दना, गायत्री मन्त्र, सरस्वती वन्दना तथा गुरु मन्त्र वाचनबाट गरिएको थियो।
अभिभावकका तर्फबाट मुना भण्डारी र प्रिया भण्डारीले शुभकामना मन्तव्य राख्दै आफ्ना बालबालिकालाई युरो किड्समा अध्ययन गराउँदा आफूहरू ढुक्क हुने गरेको बताए।
वि.सं. २०७६ वैशाख १५ गते फ्रेन्चाइजका रूपमा स्थापना भएको यस विद्यालयमा हाल ५३ जना विद्यार्थी अध्ययनरत छन्।

बिजी नर्सरी, युरो जुनियर र युरो सिनियर कक्षा सञ्चालन गर्दै आएको विद्यालयले मन्टेश्वरी शिक्षाको स्वरूप र सामाजिक दायित्व प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको अभिभावकहरूको प्रतिक्रिया रहेको छ।
कार्यक्रमको सञ्चालन शिक्षिका कृतिका अधिकारीले गरेकी थिइन्। कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक-शिक्षिका तथा शैक्षिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














