झापा, बिर्तामोड, भरत भाबुक प्रसाई — आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्दै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले झापाको बिर्तामोड–५ मा ‘गुफा रेस्टो’ सञ्चालनमा आएको छ।
पछिल्लो समयमा युवाहरू विदेश पलायन भइरहेका परिप्रेक्ष्यमा युवा विद्यार्थी मनोज अधिकारीले स्थानीय स्तरमै अवसर सिर्जना गर्ने सोचका साथ रेस्टो सञ्चालनमा ल्याएका हुन्।
रेस्टो सञ्चालनसँगै ९ जना स्थानीय युवाहरूले प्रत्यक्ष रोजगारी पाएका छन्। गुफा रेस्टोका प्रबन्ध निर्देशक मनोज अधिकारीका अनुसार यहाँ नेपाली उपभोक्ताले रुचाएका विभिन्न परिकारहरू ‘लाइभ किचन’मार्फत ग्राहककै स्वाद अनुसार तयार गरिन्छ।
उहाँले नयाँ वर्ष २०८३ वैशाख १ गतेबाट रेस्टोको औपचारिक शुभारम्भ गरिने जानकारी दिनुभयो।
रेस्टोको अर्को विशेषता भनेको जन्मदिन जस्ता विशेष अवसरमा हल निःशुल्क उपलब्ध गराइनुका साथै केक र अन्य व्यवस्थापनसमेत निःशुल्क गरिने व्यवस्था रहेको छ। यसले जन्मदिन उत्सव मनाउन चाहनेहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ।
मनोज अधिकारीले युवाहरू नेपालमा केही गर्न सकिँदैन भन्ने हतोत्साहपूर्ण सोचबाट प्रभावित भइरहेको अवस्थामा आफ्नै साथीहरूलाई रोजगारी दिँदै उदाहरण प्रस्तुत गरिएको बताउनुभयो।
यहाँ स्थानीय उत्पादनमा आधारित कालिज, बट्टाई, हाँसको छोइला, लोकल कुखुरा लगायतका परिकार अर्डरपछि मात्र ग्राहकको स्वाद अनुसार तयार गरिने भएकाले मौलिक स्वादको अनुभूति गर्न सकिने उहाँको भनाइ छ।
करिब ६० लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको उक्त रेस्टोको औपचारिक उद्घाटन नयाँ वर्षबाट गरिने रेस्टोकी प्रोप्राइटर कुसुम कुमारी ढकालले जानकारी दिनुभयो।
बिर्तामोडस्थित बिर्ता सिटी सेन्टरको दक्षिणपट्टि बुद्धनगर टोल रोड नम्बर १ मा रहेको गुफा रेस्टो सफा, स्वच्छ र शान्त वातावरणमा अवस्थित भएकाले ग्राहकहरूको रोजाइमा पर्ने अपेक्षा गरिएको छ।
रेस्टोमा ३० देखि ४० जनासम्म अट्ने सभाहल समेत रहेको छ, जसलाई भेला तथा गोष्ठीका लागि निःशुल्क प्रयोग गर्न सकिन्छ।
विभिन्न देशहरूमा सेफका रूपमा अनुभव बटुलेका तथा नेपालका म्यानेजमेन्ट कलेजहरूमा प्रयोगात्मक शिक्षकको रूपमा काम गरिसकेका दक्ष सेफहरूले यहाँ परिकार तयार गर्ने भएकाले स्वाद र गुणस्तरमा विशेष ध्यान दिइएको छ।
बिर्तामोड होटल तथा रेस्टुरेन्ट व्यवसायको ‘हब’ बन्दै गइरहेको अवस्थामा ताजा, अर्गानिक र स्वास्थ्यकर परिकारप्रति उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै ग्राहककै अगाडि उनीहरूको स्वाद अनुसार खाना तयार गरिने व्यवस्था मिलाइएको निर्देशक अधिकारीले बताउनुभयो।
उहाँका अनुसार नेपाली, थकाली, चाइनिज, इन्डियन तथा कन्टिनेन्टल परिकारहरू न्यूनतम शुल्कमा उपलब्ध गराइने भएकाले पारिवारिक वातावरणमा गुणस्तरीय खाना खान चाहनेका लागि गुफा रेस्टो भरपर्दो गन्तव्य बन्नेछ।
रेस्टोमा दुबई लगायतका देशहरूमा सेफको रूपमा काम गरिसकेका रोशन राई हेड सेफको रूपमा कार्यरत छन्। उनले ग्राहकको इच्छा र स्वाद अनुसार परिकार तयार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र स्वास्थ्यकर खानाको संयोजनसहित सञ्चालनमा आएको गुफा रेस्टोले बिर्तामोडको आतिथ्य क्षेत्रलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ














