झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुन लागेको कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव को सम्पूर्ण तयारी पूरा भएको छ।

मंगलबारदेखि सुरु हुने दुईदिने उक्त उत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन मन्त्री भीमप्रसाद पराजुलीले गर्ने कार्यक्रम तय भएको छ।

उत्सवमा जम्मा ३० वटा स्टल रहनेछन्, जसमध्ये १२ वटा पश्चिम बंगालका र १८ वटा कोशी प्रदेशका विभिन्न क्षेत्रलाई छुट्याइएको छ। स्टलहरूमा लघुउद्यम, हस्तकला तथा स्थानीय उत्पादनहरू प्रदर्शन गरिने आयोजकले जनाएका छन्।


02 1

पर्यटन कार्यालय झापाका कार्यक्रम अधिकृत निरोज कट्टेलका अनुसार कोशी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो। उनले पश्चिम बंगालसँग भगिनी सम्बन्ध विस्तार गर्दै पर्यटक आकर्षित गर्ने लक्ष्य रहेको बताए।

त्यस्तै, पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले यस उत्सवले विशेष गरी पश्चिम बंगालका पर्यटकलाई कोशी प्रदेश भ्रमणमा आकर्षित गर्ने विश्वास व्यक्त गरे।

होमस्टे महासंघ नेपाल (कोशी प्रदेश) का महासचिव मञ्जील देवानले बंगालका पर्यटकलाई कोशीमा बसाइँ गराउन सके स्थानीय होमस्टे र होटल व्यवसायले राम्रो फड्को मार्ने बताए। उनले सांस्कृतिक आदानप्रदानलाई समेत उत्सवले प्राथमिकता दिने जानकारी दिए।

03

उत्सव सफल बनाउन होटल व्यवसायी संघ झापा, नाट्टा कोशी प्रदेश लगायतका संस्थाहरूले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमको सहजीकरण पर्यटन पत्रकार मञ्च झापाले गरेको हो।