बुद्धशान्ति । पवन ढकाल,
निजी तथा आवासीय विद्यालय संगठन (pabson) बुद्धशान्तिले हात्ती तथा जंगली जनावर प्रभावित क्षेत्रका नागरिकलाई रात्रीकालीन जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले बुद्धशान्ति गाउँपालिका तथा सुरक्षा निकायलाई हाते माइक, टर्चलाइट लगायत आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
प्याब्सन बुद्धशान्तिका अध्यक्ष तिलक पाखृङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको हो।

कार्यक्रममा उक्त सामग्री गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी प्रसाद खतिवडा, शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौला, अनिल घिमिरे, इलाका प्रहरी कार्यालयका प्रमुख चन्द राहुत, अस्थायी प्रहरी चौकी मङलबारेका सहायक इन्चार्ज गजेन्द्र कटुवाल
तथा सशस्त्र प्रहरी बेस क्याम्प टिमाईका प्रमुख सुरेन्द्र ठाकुरलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्याब्सनको तर्फबाट झापा अध्यक्ष छत्र बहादुर कार्की, बुद्धशान्ति अध्यक्ष तिलक पाखृन , केदार खतिवडा र सूर्यमान सुब्बा लगायत विभिन्न बिधालयका पृन्सिपल हरुको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष मनोज प्रसाईंले शैक्षिक क्षेत्रमा क्रियाशील संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै हात्ती तथा जंगली जनावर प्रभावित नागरिकको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पेप्सन बुद्धशान्तिको खुलेर प्रशंसा गर्दै
उक्त सामग्री सार्वजनिक सम्पत्ति भएकाले आवश्यक पर्दा सम्बन्धित निकायसँग समन्वय गरी सबैले उपयोग गर्न सकिने बताउनुभयो।
प्याब्सन बुद्धशान्तिका सचिव सन्तोष भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, सुरक्षा निकायका प्रतिनिधिहरूले यस्तो सहकार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपद् व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्याब्सन प्रति आभार प्रकट गरेका छन्।














