जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विर्तामोड क्षेत्रमा सञ्चालित सिटी सफारीमाथि निगरानी कडा पार्दै विशेष कारबाही अभियान सुरु गरेको छ।
पछिल्लो समय ई-रिक्साका कारण सडक व्यवस्थापनमा चुनौती थपिएको र दुर्घटनाको जोखिम बढेको निष्कर्ष निकाल्दै प्रहरीले छड्के चेकजाँच र सचेतनालाई तीव्रता दिएको हो।
प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले सोमबार विर्तामोडका विभिन्न स्थानमा गरेको आकस्मिक जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ५५ वटा सिटी सफारीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ।
विशेषगरी सवारी चालक अनुमति पत्र नभएका, आवश्यक कागजात साथमा नबोक्ने र जथाभावी पार्किङ गर्ने चालकहरू कारबाहीमा परेका हुन्।
सडकमा बढ्दो चाप र ई-रिक्सा चालकहरूको लापरबाहीका कारण सर्वसाधारणबाट जनगुनासो बढेपछि प्रहरीले यो कदम चालेको हो। क्षमताभन्दा बढी यात्रु बोक्ने, जेब्राक्रसमा अवरोध पुर्याउने र सडकको बीचमै 'डबल पार्किङ' गर्ने प्रवृत्तिले नगरको ट्राफिक व्यवस्था भद्रगोल बनेको प्रहरीको ठहर छ।
चेकजाँचका क्रममा ट्राफिक प्रहरीले चालकहरूलाई कारबाही मात्र नगरी सडक अनुशासनका विषयमा स्थलगत प्रशिक्षण समेत दिएको छ। सवारी चलाउँदा अनिवार्य रूपमा लाइसेन्स र ब्लुबुक बोक्न तथा लागूपदार्थ वा मादक पदार्थ सेवन नगर्न कडा निर्देशन दिइएको छ।
छोटो दूरीको यात्राका लागि सिटी सफारी प्रभावकारी माध्यम भए पनि नियम पालना नगर्दा यसले जोखिम निम्त्याएको भन्दै प्रहरीले आगामी दिनमा पनि यस्ता छड्के जाँचलाई निरन्तरता दिने चेतावनी दिएको छ।














