बिर्तामोड नगरपालिकाको न्यायिक समितिले स्थानीय विवाद समाधानमा उल्लेख्य सफलता हासिल गर्दै आएको छ।
नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाका अनुसार पछिल्लो चार वर्षको अवधिमा दर्ता भएका अधिकांश उजुरीहरू मेलमिलाप र कानुनी प्रक्रियामार्फत फछ्र्यौट भएका छन्।
न्यायिक समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका १४७ मुद्दामध्ये ८९ वटा समाधान भएका थिए।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १४३ उजुरी परेकोमा ९६ वटाको सफल फछ्र्यौट भएको छ। समितिको सक्रियताकै कारण आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका १३४ मुद्दामध्ये ९७ वटा किनारा लागेका छन्।
चालु आर्थिक वर्ष २०८२/८३ मा भने हालसम्म ११७ मुद्दा दर्ता भएका छन्। जसमध्ये २९ वटाको फछ्र्यौट भइसकेको र ५५ वटा मुद्दा अहिले प्रक्रियामै रहेको संयोजक संग्रौलाले जानकारी दिए।
केही समयअघि भएका विभिन्न आन्दोलन र चाडपर्वका कारण मुद्दाको सुनुवाइमा सामान्य सुस्तता देखिए पनि अहिले तीव्र गतिमा कार्यसम्पादन भइरहेको उनले बताए।
नगरपालिकाले सामान्य विवादहरूलाई वडास्तरमै समाधान गर्ने नीति लिएको छ। न्यायिक समितिमा नआएका विवादहरूलाई वडा मेलमिलाप केन्द्रमार्फत नै सुल्झाउने गरिएको छ, जसले गर्दा सर्वसाधारणलाई न्यायका लागि नगरपालिकाको मुख्य कार्यालयसम्म धाइरहनु पर्ने बाध्यता हटेको छ।
स्थानीयस्तरमै सौहार्दपूर्ण वातावरणमा विवाद समाधान हुँदा सामाजिक सद्भाव कायम राख्न समेत मद्दत पुगेको समितिको निष्कर्ष छ।
नगरपालिकाले न्यायिक समितिलाई थप प्रभावकारी बनाउन मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने कार्यलाई समेत निरन्तरता दिँदै आएको छ।














