झापा, चैत २३ । झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट एकजना शरणार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका ३ बेलडाँगी शिविर सेक्टर नं. सी२ हट न. २०४ बस्ने बर्ष ५४ का तुलबहादुर बिष्ट रहेका छन् ।

घरनजिकै रहेको हम्से दुम्से सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भनी घरबाट हिडेका विष्टलाई हात्तीले आक्रमण गरेको थियो ।

चैत १९ गते बिहान १० बजे घाँस काट्न जंगल गएका विष्ट घर फर्केर नआएपछि आज बिहान ९ बजे आफन्त र छरछिमेकीले खोजतलास गर्ने क्रममा हम्से दुम्से सामुदायिक वनमा उनी मृत फेला परेका थिए ।

घटनास्थलमा हात्तीको पाइलाको छाप देखिएको छ । हम्से दुम्से वनमा दारा भएको र नभएको गरी दुईवटा हात्ती रहेका छन् । दारा भएको हात्तीले क्षतविक्षत गरी विष्टलाई मारेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा अनुसन्धान टोली खटिएर आवश्यक कानुनी प्रकृया पुरा गरि शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको छ ।