बिर्तामोड । झापाको बिर्तामोडस्थित बुट्टाबारीमा ‘चौथो एनी बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ आगामी वैशाख ५ गतेदेखि सञ्चालन हुने भएको छ ।
स्थानीय स्तरमा फुटबल खेलको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा हुने प्रतियोगितामा भारतसहित नेपालका विभिन्न जिल्लाका गरी ८ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा आयोजक बुट्टाबारी युनाइटेडसहित रेडहर्स इलाम, तरञ्जुबारी फुटबल क्लब (भारत), ब्रदर्सहुड क्लब उदयपुर, जलथल एफसी झापा, फेयर फुटबल क्लब धरान–सुनसरी, बेलबारी फुटबल क्लब मोरङ र बगान युथ क्लब कचनकवलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ खेलाडीलाई २ हजार २ सय रुपैयाँ प्रदान गरिनेछ ।
साथै उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
बुट्टाबारी युनाइटेड क्लबका अध्यक्ष रविन राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बिर्तामोड वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद उपस्थित हुनुहुन्थ्यो।
पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथिले लोगो सार्वजनिक गर्दै ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो।
उहाँले युवाहरूलाई जागरुक बनाई अनुशासनको मार्गमा हिँडाउन वडा नं. ६ का स्थानीय क्लब र खेलप्रेमी अग्रज स्थानीयवासीहरूको संयुक्त सहयोग र प्रयासमा विगत तीन वर्षदेखि नियमित रूपमा बुट्टाबारी गोल्डकप आयोजना हुँदै आएको बताउनुभयो।
साथै, वडाले आउँदा दिनमा खेल क्षेत्रको उन्नयनका लागि अझ बढी आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा झापा फुटबल संघका अध्यक्ष भगीरथ आले मगरले खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरू अत्यन्त आवश्यक भएको बताउनुभयो।
उहाँले युवाहरूलाई समाजप्रतिको दायित्वमा दिशाबोध गराउँदै अनुशासित बनाउन यस्ता गोल्डकप विभिन्न वडा र नगरपालिकामा सञ्चालन हुने गरेको उल्लेख गर्नुभयो।
विगतका गोल्ड कपहरू जस्तै यस प्रतियोगितालाई पनि सफल बनाउन सम्पूर्ण खेलप्रेमीहरूको सहयोग रहनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो।
बुट्टाबारी युनाइटेड क्लबका अध्यक्ष रविन राईले अनुमानित २१ लाख ६३ हजार ३३३ रुपैयाँको बजेटबाट प्रतियोगिता सम्पन्न गर्नुपर्ने विधानमा उल्लेख भएको र संकलित रकम, अर्को वर्ष गोल्डकप सञ्चालन गर्नका लागि राख्न नमिल्ने भएकाले नाफा भए उर्भरिएको अन्य रकम स्वास्थ्य शिक्षा शिर्षकमा खर्चिने बताउनु भयो ।
आयोजकले यस प्रतियोगिता मार्फत स्थानीय खेलकुदको विकाससँगै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना हुने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा क्लबका उपाध्यक्ष बाबुराम बस्नेतले प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै उपस्थित पत्रकार तथा अतिथिहरूलाई स्वागत गर्नुभयो।
पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार समिति संयोजक देवी नेपालले शुभकामना मन्तव्य राख्दै प्रतियोगिता सफल बनाउन सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा सल्लाहकार समिति सदस्य अर्जुन खवास, कमलराज बिमली, पूर्व संस्थापक अध्यक्ष हिमाल कन्दंगवा लगायत स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । उद्घाटन खेल वैशाख ५ गते आयोजक बुट्टाबारी युनाइटेड र भारतको तरञ्जुबारी फुटबल क्लबबीच हुने तय भएको छ भने फाइनल खेल वैशाख १२ गते सम्पन्न हुनेछ ।
प्रतियोगिताको अनुमानित बजेट २१ लाख ६३ हजार ३ सय ३३ रुपैयाँ रहेको जनाइएको छ । आयोजकले यस प्रतियोगिताबाट स्थानीय खेलकुदको विकाससँगै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना हुने विश्वास व्यक्त गरेको छ ।














