झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ । मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कृषि क्षेत्रमा फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै रु ३ अर्ब १९ करोड २९ लाख ८२ हजार बराबरको क्षति भएको छ ।

यसबाहेक १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ । झापाका १५ वटै पालिकामा क्षति देखिए पनि सबैभन्दा ठूलो मार मकैबालीले बेहोरेको छ ।

हावाहुरीसँगै परेको असिनाले बालीनाली थिचिएपछि उत्पादन नै नउठ्ने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।

सबैभन्दा प्रभावित क्षेत्रमध्ये बाह्रदशी गाउँपालिका रहेको छ । यहाँ लगाइएको मकैबालीमध्ये झण्डै ७५ प्रतिशत नष्ट भएको छ । सात वडा रहेको पालिकामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैबालीमा क्षति पुगेको प्रमुख विष्टले बताए ।