काठमाडौँ । नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर बहुप्रतिक्षित नेपाली चलचित्र ‘राम नाम सत्य’ आज शुक्रबारदेखि देशभरका सिनेमा घरहरूमा रिलिज भएको छ।

एक्सन र सस्पेन्स थ्रिलर कथावस्तुमा आधारित यो फिल्मले नयाँ वर्षको उमङ्गसँगै दर्शकमाझ उत्साहजनक उपस्थिति जनाएको छ।

आजैदेखि प्रदर्शनमा आउने तयारीमा रहेका अन्य दुई चलचित्र ‘२६ को आकांक्षा’ र ‘डल्लीले एन्ट्री मर्याँ’ को रिलिज अन्तिम समयमा आएर स्थगित भएपछि ‘राम नाम सत्य’ लाई हलहरूमा ठूलो फाइदा पुगेको छ।

प्रतिष्पर्धी फिल्महरू मैदानबाट बाहिरिएसँगै यस फिल्मले देशभरका मल्टिप्लेक्स र सिंगल थिएटरहरूमा विशेष स्थान र बढी शोहरू सुरक्षित गर्न सफल भएको छ।

माइकल चन्दको निर्देशनमा तयार भएको यस चलचित्रमा विराज भट्ट, सुशिल श्रेष्ठ र सुरक्षा पन्त जस्ता नाम चलेका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

विशेषगरी दिवंगत अभिनेता सुनिल थापाको अन्तिम अभिनय समेटिएको फिल्म भएकाले पनि यसप्रति दर्शकको विशेष चासो र भावनात्मक लगाव देखिएको छ।

सामाजिक विकृति र भ्रष्टाचार विरुद्धको कथालाई सशक्त ढंगले उठान गरिएको यो फिल्मले नयाँ वर्षको बिदा र एकल प्रदर्शनको फाइदा उठाउँदै बक्स अफिसमा बलियो व्यापार गर्ने अपेक्षा गरिएको छ।