झापा । झापाको बिर्तामोड नगरपालिका–४ मा वि.सं. २०४५ सालमा स्थापना भएको इर्डन गार्डेन एजुकेशन फाउन्डेसनले समयसापेक्ष तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ।
निजी क्षेत्रबाट सञ्चालित यस विद्यालयमा हाल ६५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने ४५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
हल्दिबारी र बिर्तामोडका विभिन्न क्षेत्रका विद्यार्थी अध्ययनरत रहेको विद्यालयले शैक्षिक गुणस्तरमा निरन्तरता कायम राख्दै आएको बताइएको छ।
संस्थापक प्रिन्सिपल मोहन आचार्यका अनुसार विद्यालयले वि.सं. २०६१ सालमा एसएलसीको पहिलो ब्याच उत्पादन गरेको थियो। त्यसयता विद्यालयले एसएलसी परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै आएको उनले जानकारी दिए।
विद्यालयमा स्मार्ट एजुकेशन प्रणालीमार्फत बालमैत्री वातावरणमा अध्यापन गरिँदै आएको छ। संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको विद्यालयमा होस्टलको समेत सुविधा उपलब्ध रहेको छ।
“विद्यार्थीको भविष्यमा खेलबाड नगरी समय सापेक्ष शिक्षा प्रदान गर्दै दक्ष शिक्षकमार्फत गुणस्तरीय अध्यापन गराइरहेका छौं,” प्रिन्सिपल आचार्यले बताए।
विद्यालयले सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक र प्राविधिक शिक्षालाई समेत प्राथमिकता दिएको जनाएको छ। यसका लागि समय–समयमा विद्यार्थी लक्षित विभिन्न प्राविधिक तालिमहरू सञ्चालन गरिँदै आएको विद्यालयका कोडिनेटर गिताराम आचार्यले जानकारी दिए।
यसैबीच, विद्यालयले विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले गत माघ १३ गते झापामै पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अन्तरविद्यालय कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा १० वटा विद्यालयको सहभागिता रहेको विद्यालयका भाइस प्रिन्सिपल खेमराज आचार्यले बताए।
विद्यालयले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गर्दै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ। विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्दै समयअनुसारको शिक्षा प्रदान गर्ने लक्ष्यसहित विद्यालय अगाडि बढिरहेको जनाएको छ।














