काठमाडौँ । भरत भाबुक प्रसाई , नेपाली चलचित्र जगतका मुर्धन्य निर्देशक तुलसी घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको बहुप्रतिक्षित चलचित्र ‘पहाड’ आज नयाँ वर्षको अवसर पारेर देशभरका चलचित्र घरहरूमा औपचारिक रूपमा प्रदर्शन भएको छ। 

‘कुसुमे रुमाल’, ‘चिनो’ र ‘दर्पण छायाँ’ जस्ता सुपरहिट चलचित्रका सर्जक घिमिरेले लामो समयको अन्तरालपछि पर्दामा ल्याएको यस चलचित्रले पहिलो दिनमै देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनहरूमा उत्साहजनक ओपनिङ गर्न सफल भएको छ।

विशेष गरी पहाडी क्षेत्रका गाउँहरू युवा जनशक्ति पलायनका कारण कसरी सुनसान र रित्तो बन्दैछन् भन्ने गम्भीर सामाजिक विषयवस्तुलाई चलचित्रले मुख्य मुद्दा बनाएको छ।

भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली राजनीतिका विशिष्ट व्यक्तित्व तथा कलाकार मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, बिपिन कार्की, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री लगायतका प्रभावशाली कलाकारहरूको मुख्य भूमिका रहेको छ। निर्देशक घिमिरेले यसै चलचित्रमार्फत आफ्नी कान्छी सुपुत्री पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा नेपाली सिने जगतमा पदार्पण गराएका छन् भने जेठी छोरी भावना घिमिरेले चलचित्रको प्राविधिक पक्षमा निर्माण डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।

672670491_2036042110308088_409769034559502878_n

चलचित्रमा वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीत र भारती घिमिरेको रचनात्मक निर्देशन रहेको छ जसले गर्दा पुराना र नयाँ पुस्ताका दर्शकहरू दुवैका लागि यो चलचित्र विशेष आकर्षणको केन्द्र बनेको छ।

काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित विशेष प्रिमियर शोमा उपस्थित चलचित्रकर्मी तथा दर्शकहरूले चलचित्रको कथावस्तु र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

निर्देशक घिमिरेले चलचित्र प्रदर्शनसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो केबल एउटा मनोरञ्जनको साधन मात्र नभएर हाम्रो राष्ट्रको तितो यथार्थ र पहाडी सभ्यतालाई जोगाउने एउटा सन्देशमूलक दस्तावेज भएको उल्लेख गरेका छन्।

युवाहरू विदेशिने क्रमले पहाडमा वृद्धवृद्धाहरू मात्र बाँकी रहेको कारुणिक अवस्थालाई चलचित्रमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको दर्शकहरूको प्रारम्भिक प्रतिक्रिया छ।

नयाँ वर्षको सुखद अवसरमा रिलिज भएको ‘पहाड’ ले नेपाली मौलिक चलचित्रको बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

ओजस्वी केसी, रिम्पोछे लामा थिङ, सुरेश लामा थिङ र उमा गिरी निर्माता रहेको यस चलचित्रले नेपालसँगै डायस्पोरामा रहेका नेपाली दर्शकहरूको पनि मन जित्ने संकेत देखिएको छ।

नेपाली चलचित्र उद्योगलाई विशेष योगदान पुर्‍याउँदै आउनुभएका वरिष्ठ निर्देशक तुलसी घिमिरेज्यूको यो पछिल्लो कृतिले व्यावसायिक उचाई हासिल गरोस् भन्दै निर्माण टिमलाई भव्य सफलताको शुभकामना व्यक्त गरिन्छ।