बुद्धशान्ति, झापा — बुद्धशान्ति गाउँपालिकास्थित भगिरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा २४ सै घण्टा सेवा सुरु गरिएपछि डाक्टर तथा अन्य कर्मचारीले अतिरिक्त सेवा (ओभरटाइम) बापतको रकम नपाएको तथ्य बाहिर आएको छ।
गत साउन महिनादेखि अस्पतालले २४ घण्टा सेवा प्रवाह सुरु गरेको थियो। त्यसयता कर्मचारीहरूले नियमित समयभन्दा बढी काम गर्दै आए पनि ओभरटाइम (OT) वा इन्सेन्टिभ रकम नपाउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन्।
हाल अस्पतालमा ४ जना डाक्टर कार्यरत रहेका छन्। सेवाग्राहीहरूको चाप बढेपछि सेवा विस्तार गरिएको भए पनि जनशक्ति अभावका कारण सीमित कर्मचारीलाई नै लामो समयसम्म काममा खटाइएको बताइएको छ। सुरुवाती चरणमा इन्सेन्टिभ दिने आश्वासन दिइए पनि हालसम्म उक्त सुविधा कार्यान्वयन नभएको कर्मचारीहरूको भनाइ छ।
कर्मचारीहरूका अनुसार दैनिक आधारभूत कार्य समय ८ घण्टा भए पनि १५–१६ घण्टासम्म काम गर्नुपर्ने अवस्था रहेको छ। थप डाक्टर तथा कर्मचारी व्यवस्थापन गर्न, भुक्तानी गर्न बाकि रकम भुक्तान गर्न नसकेको र प्रशासन र ब्यवस्थापन समितिले त्यसतर्फ पर्याप्त पहल नगरेको एक कर्मचारीले नाम नबताउने सर्तमा बताए।
अस्पताल प्रशासन र बुद्धशान्ति गाउँपालिकाले आन्तरिक समस्याप्रति गम्भीरता नदेखाउँदा स्वास्थ्य सेवा प्रभावित हुने जोखिम बढ्दै गएको देखिएको छ।