झापाको बुद्धशान्ति–४ स्थित श्री माध्यमिक विद्यालय बर्नेले उदाहरणीय पहल गर्दै आफ्ना विद्यार्थीहरूको अवस्थाबारे बुझ्न घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।
परीक्षा परिणाम सार्वजनिक भइसकेको तर नयाँ भर्ना अभियान अझै सुरु नभएको यस संक्रमणकालीन समयमा विद्यार्थीहरू घरमै बसिरहेका बेला उनीहरूको दैनिकी, सिकाइको निरन्तरता र शैक्षिक संलग्नता कस्तो छ भन्ने बुझ्न विद्यालय आफैं सक्रिय बनेको हो।

कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा सरोकारवालाहरू विद्यार्थीहरूको घर–घरमै पुगेर अभिभावकसँग प्रत्यक्ष भेटघाट गरेका छन्।
सो क्रममा विद्यार्थीहरूको पढाइप्रतिको रुचि, समय व्यवस्थापन, घरमै गरिरहेका गतिविधि तथा सिकाइलाई निरन्तरता दिन सकिने उपायबारे जानकारी संकलन गरिएको छ।

खन्यौगौडा, चतुरेवर लगायतका विभिन्न क्षेत्रबाट आजदेखि सुरु गरिएको यो अभियान क्रमशः सबै क्षेत्रमा विस्तार गरिने विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक टन्कनाथ घिमिरेका अनुसार, “विद्यार्थीलाई पढाइसँग निरन्तर जोडिराख्नु र अभिभावकसँग समन्वय बलियो बनाउनु नै यस अभियानको मुख्य उद्देश्य हो।”
यस अभियानमा विद्यालयका सहायक प्रधानाध्यापक भोजराज कार्की, शिक्षक डम्बर शिवाकोटी, कम्प्युटर शिक्षक मुकेश ढुङेल लगायतका शिक्षक–शिक्षिकाहरू समूहगत रूपमा परिचालन भएका छन्।
विद्यालयको यस सक्रिय पहलले विद्यार्थीहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास लिइएको छ। यस्तो प्रयासलाई शैक्षिक गुणस्तर सुधारतर्फको महत्वपूर्ण र प्रेरणादायी कदमका रूपमा समेत हेरिएको छ।














