झापा — झापाको बुद्धशान्ति गाउँपालिकाले समुदायमा बढ्दो मानसिक तथा सामाजिक समस्यालाई मध्यनजर गर्दै निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालनमा ल्याएको छ। गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै विदेश रोजगारीमा रहेका कामदार, तिनका परिवार तथा समग्र समुदायलाई लक्षित गरी सेवा सुरु गरिएको जनाएको हो।
गाउँपालिकाका अनुसार पछिल्लो समय विभिन्न कारणले मानसिक तनाव, पारिवारिक विवाद तथा सामाजिक असमझदारीका घटना बढ्दै गएकाले त्यसको समाधानका लागि विशेषज्ञमार्फत परामर्श सेवा उपलब्ध गराइएको हो। सेवा अन्तर्गत प्रभावित व्यक्तिहरूलाई गोपनीयता कायम राख्दै निःशुल्क मनोसामाजिक सहयोग प्रदान गरिनेछ।
सूचनाअनुसार आपसी मनमुटाव, पारिवारिक कलह तथा सामाजिक विवादबाट उत्पन्न तनाव व्यवस्थापनमा विशेष ध्यान दिइनेछ। साथै, हिंसा, घरेलु हिंसा, लैङ्गिक विभेद, लाञ्छना तथा यौन दुर्व्यवहारसँग सम्बन्धित समस्यामा पनि परामर्श सेवा उपलब्ध हुनेछ।
यसैगरी मानसिक तथा भावनात्मक तनाव, चिन्ता व्यवस्थापन, विद्यार्थी, बालबालिका तथा किशोर–किशोरीमा देखिने व्यवहारिक तथा अध्ययनसम्बन्धी समस्या समाधानमा समेत सेवा केन्द्रित रहनेछ। परिवारका सदस्य विदेश वा टाढा रहँदा उत्पन्न हुने एक्लोपन, उदासी तथा मानसिक असहजता कम गर्न पनि परामर्श प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
निराशा तथा आत्महत्या सोच नियन्त्रण तथा रोकथामका लागि विशेष परामर्श सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ। त्यस्तै, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूमा देखिने मनोसामाजिक तनाव व्यवस्थापनमा समेत विशेषज्ञ सहयोग उपलब्ध गराइनेछ।
गाउँपालिकाले इच्छुक सेवाग्राहीलाई प्रत्यक्ष रूपमा मनोसामाजिक परामर्शकर्तासँग सम्पर्क गरी सेवा लिन आग्रह गरेको छ। स्थानीय तहबाट यस्तो पहल सुरु हुनु समुदायमा मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा समस्या समाधानमा सहजता ल्याउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।














