झापा । जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को पाँचौं खेलमा विराटनगरको लायन्स क्रिकेट एकेडेमीले इनरुवाको फुलबारी स्पोर्ट्स एकेडेमीमाथि १२ रनको रोमाञ्चक जित हात पारेको छ।

अर्जुनधारामा शुक्रबार सम्पन्न खेलमा लायन्सले प्रस्तुत गरेको १२३ रनको लक्ष्य पछ्याएको फुलबारी २० ओभरमा ६ विकेट गुमाउँदै ११० रनमै सीमित भयो।

671727019_1573210211480042_8044098067280625990_n

पहिले ब्याटिङ गरेको लायन्स क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। टोलीका लागि युबराजसिंह बेगवानीले ४५ रनको महत्वपूर्ण इनिङ खेले भने आशिष अधिकारीले २४ रन र सुवास मण्डलले १५ रनको योगदान दिए।

फुलबारीका लागि बलिङतर्फ समार्थ रायले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। दिवश विष्ट र जेनिश ठाकुरले समान १–१ विकेट लिए।

673138824_1573374544796942_4891554899742220429_n१२३ रनको लक्ष्य पछ्याएको फुलबारीका लागि आरम्भ भट्टराईले २२ रनको योगदान गरे । समार्थ रायले १८ रन तथा प्रिन्स कुमार शाहले १७ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

लायन्सका बलर करिताथा बस्नेतले २ विकेट लिए भने शाश्वत बस्नेत र संस्कार भट्टराईले समान १–१ विकेट लिँदै विपक्षीलाई दबाबमा राखे।

यो जितसँगै लायन्स क्रिकेट एकेडेमीले समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै आफ्नो स्थिति सुधार गरेको छ। यसअघि खेलेका दुई खेलमा पराजित लायन्सका लागि यो महत्वपूर्ण जित हो। उता, लगातार दुई खेल जितेको फुलबारीले भने प्रतियोगितामा पहिलो हार बेहोरेको छ।

यसैगरी, शुक्रबार नै सम्पन्न समूह ‘बी’ को छैटौं खेलमा भारत, कोलकाताको क्रिकेट जोन अन्दलले इनरुवा क्रिकेट एकेडेमीमाथि १८ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। अन्दलको जितमा सुमितले ४१ बलमा सर्वाधिक ६३ रनको उत्कृष्ट इनिङ खेले।

इनरुवा क्रिकेट एकेडेमीको भने समूह चरणमा यो तेस्रो खेल हो। यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको थियो।

673817638_1573373731463690_6681027438232596214_n

प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू झनै प्रतिस्पर्धात्मक बन्दै गइरहेका छन् भने हरेक दिन दुई खेल सञ्चालन भइरहेका छन्।

अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १० वटा यू–१३ टोलीहरूको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।